अर्थ / बाणिज्य

ऊर्जा खपत बढ्यो : ६५ प्रतिशत बिजुली भारतीय

इकागज |
बैशाख १३, २०७८ सोमबार १६:५६ बजे

काठमाडौँ : कोभिड-१९ ले मुलुकको अर्थतन्त्र चौपट पारिरहेका बेला विद्युत् ऊर्जा खपत भने बढेको छ । खपत बढेका कारण आन्तरिक उत्पादनले धान्न नसकेर भारतबाट बिजुली आयात ह्वात्तै बढेको छ । कोभिड-१९ का कारण यो वर्षको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) दुई प्रतिशले गिरावट आएको छ । तर ऊर्जा खपत भने पोहोरको भन्दा १० प्रतिशतले बढेको छ । 

मुलुकको ऊर्जा खपत १० प्रतिशतले बढेकाले सुख्खायाममा भारतीय बिजुली आयातको परिमाण वृद्धि भएको विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।छिमेकी भारतमा कोभिड-१९ का कारण खपत घटिरहेका बेला नेपालमा बिजुली खपत बढ्नु सकारात्मक रहेको उनको भनाइ थियो । ‘हाम्रा तथ्यांकले औद्योगिक ऊर्जा खपत पनि बढेको देखिन्छ,’ शाक्यले सोमबार इकागजसँग भने ।


प्राधिकरणको तथ्यांकअनुसार यो वर्षको ऊर्जा खपत २७ हजार ५०० मेगावाट घण्टा (२ करोड ७५ लाख युनिट) छ । गत वर्ष यस्तो खपत जम्मा २ करोड युनिट मात्र रहेको प्राधिकरणको प्रणाली सञ्चालन विभागका प्रमुख सुरेश भट्टराईले बताए । उनका अनुसार उद्योग र सिंचाइमा खपत बढेको देखिन्छ । ऊर्जा खपत बढेकै कारण भारतबाट बिजुली आयात पनि बढेको भट्टराईको भनाइ थियो । हिजो आइतबार भारतबाट ८१७ मेगावाट बिजुली आयात भएको थियो । यो प्राधिकरणले आपूर्ति गरेको कूल विद्युतमा ५५.५७ प्रतिशत हो । 

प्राधिकरणले पहिलो अन्तर्देशीय प्रसारण लाइन ढल्केबर-मुजफ्फपुरबाट अस्ति शनिबार ३८० मेगावाटसम्म आयात गरेको भट्टराईले बताए । १३२ केभीका कुसाहा-कटैयाबाट २०० मेगावाट, १३२ केभीकै रक्सौल-परवानीपुरबाट ९० मेगावाट, १३२ केभीकै वाल्मिकी-रामनगरबाट ५५ मेगावाट र टनकपुरबाट ७५ मेगावाट बिजुली आयात भएको थियो । 

प्रणालीमा उच्चतम विद्युतको माग (पिक डिमान्ड) १४७० मेगावाट रहेको भट्टराईले बताए । काठमाडौं उपत्यकामा यस्तो उच्चतम माग २९२ मेगावाट छ । रातिको समयमा उपतयकामा केवल ८४ मेगावाट बिजुली खपत हुने गर्छ । देशभर औसत विद्युत् माग भने एक हजार मेगावाट छ । साँझपख राति नौ बजेसम्मको मागलाई पिक डिमान्ड भनिन्छ । त्यतिबेला सबैले घरमा बिजुली बाल्ने हुँदा माग उच्च विन्दुमा पुग्ने गर्छ । 

माग धमाधम वृद्धि भइरहेका बेला स्वदेशी जलविद्युत् उत्पादन भने स्वाट्टै घट्दै गएको छ । ७७२ मेगावाटको जडित क्षमता भएका निजी क्षेत्रले यतिबेला २ सय मेगावाटको हाराहारीमा उत्पादन गरिरहेको भट्टराईले बताए । अस्ति शनिबार त निजी क्षेत्रको उत्पादन जम्मा १८० मेगावाट मात्रै थियो । जबकि जडित क्षमता प्राधिकरणको भन्दा निजी क्षेत्रको छ । प्राधिकरणको जडित क्षमता ६४६ मेगावाट छ ।

निजी क्षेत्रका सबै विद्युतगृह खोलामा जति पानी उपलब्ध हुन्छ त्यति नै बिजुली उत्पादन गर्ने प्रकृतिको अर्थात् नदी प्रवाही छ । प्राधिकरणले पोखरी बनाएर केही घण्टासम्म जडित क्षमतामा बिजुली उत्पादन गर्न सक्छ । यस्तो ऊर्जालाई पिकिङ (उच्चतम खपतका बेला उत्पादन गर्न सकिने) भनिन्छ ।

प्राधिकरणले भने पिकमा ४८० मेगावाटसम्म उत्पादन गर्दै आएको जानकारी भट्टराईले दिए । एक सय चार मेगावाट क्षमता भएको एकमात्र जलाशययुक्त कुलेखानी पिक र अफ पिक दुवैमा चलाउने गरिएको पनि उनले बताए । ‘प्रणालीलाई सन्तुलित तुल्याउन पनि कुलेखानी नचलाई हुँदैन,’ भट्टराईले इकागजसँग भने । 

औद्योगिक र सिंचाइको माग बढेकाले अपुग बिजुली भारतबाट आयात गर्नुपरेको हो । केही दिनअघि ६५ प्रतिशतसम्म आयात भएको थियो । काठमाडौंपछि सबैभन्दा बढी बिजुली खपत विराटनगर (१४० मेगावाट), भैरहवा (१३० मेगावाट), हेटौंडा (६० मेगावाट) र बीरगञ्ज (४५ मेगावाट) मा हुँदै आएको छ । 

खपत मात्र नभई गत वर्षको भन्दा यसपालि प्रणालीमा विद्युत् चुहावट पनि केही वृद्धि भएको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेका अनुसार गत सालको तुलनामा यसपालि शून्य दशमलब ५ प्रतिशतले वितरण चुहावट बढेको छ । गत वर्ष वितरण चुहावट १०.३७ प्रतिशत थियो । अहले यस्तो चुहावट १०.८ प्रतिशत रहेको न्यौपानेले बताए । ‘खपत वृद्धि हुँदा प्रसारण प्रणाली ओभरलोड हुन पुग्यो,’ न्यौपानेले सोमबार इकागजसँग भने, ‘यसले गर्दा प्राविधिक चुहावट हल्का बढ्न पुगेको हो ।’


Author

थप समाचार
x