जापान र फ्रान्समा वार्षिक पाँच मेट्रिक टन निर्यात हुन्छ गुल्मीको कफी
रेसुङ्गा । गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफीखेतीमा आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी सङ्घमार्फत् निर्यात हुँदै आएको छ ।
संघका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै वार्षिक पाँच मेट्रिक टन कफी निर्यात हुँदै आएको छ । किसान, समूह र सहकारीबाट खरिद गरिएको कफी प्रशोधन गरी संघले निर्यात गर्दै आएको छ । जसबाट संघले वार्षिक ६० लाख आम्दानी गर्दै आएको सचिव आचार्यको भनाइ छ ।
कफी विकास केन्द्र गुल्मीका प्रमुख जीवन आचार्यले कफीको बिउ स्रोत केन्द्रका रुपमा काम गरिरहेको बताए । कुल ६ हेक्टर क्षेत्रफलमा बिउका लागि कफी खेती गरिएको छ । अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुन थालेपछि कफी खेतीमा किसानको आकर्षण बढेको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका–८ का २५ वर्षीय मनोज पाण्डे र २४ वर्षे सरोज बेलबासे व्यावसायिक कफी खेतीमा छन् । आँपचौरको पिपला रुखमा दुई सय रोपनीमा डेढ वर्षदेखि कफी खेती गरिरहेका उनीहरुले बीस हजार कफीका बिरुवा रोपेका छन् ।
“विदेशमा पसिना बगाउनुभन्दा स्वदेशमै मिहेनत गरौँ भन्ने सोचले कफी खेती सुरु गरेका हौँ”, बेलबासेले भने । मनोज र सरोजले गरेको कफी खेतीबाट हाल एक हजार बिरुवाले उत्पादन दिइरहेका छन् । मनोजका अनुसार गत वर्ष यसबाट सात लाख आम्दानी भएको थियो । कफी खेतीमा उनीहरुले हालसम्म ५१ लाख लगानी गरेका छन् । कफी खेतीसँगै कफी प्रशोधन, प्याकेजिङ र बजारीकरण समेत आफै गर्दै आएका छन् । सिजनमा ३५ जना र अन्य समयमा दैनिक पाँच जनालाई उनीहरुले रोजगारी समेत दिएका छन् ।
उनीहरु मात्रै होइन आँपचौरका अधिकांश परिवार कफी खेतीमा होमिएको छ । केहीले व्यावसायिक रुपमा त केहीले घर खर्चका लागि मात्रै पनि कफी खेती गरेका छन् ।
आँपचौरका किसान कपिला खरेलको कपिला कृषि तथा पशुपंक्षी फर्म छ । व्यवसायिक रुपमा कफी खेतीसँगै केरा खेती र कुखुरापालन पनि गर्छिन् । उनले रोपेका दुई सय कफीका बोट उत्पादन दिने अवस्थामा छन् । उनले कफीखेती विस्तारका लागि छहारी निर्माणमा लागेकी छन् ।
आँपचौरकै दुर्गा खरेलले पनि कफीखेतीलाई बगैँचाका रुपमा विस्तार गरेकी छन् । उनले प्रत्येक वर्ष ४ क्विन्टलभन्दा बढी कफी बिक्री गर्दै आएका छन्। “कफी खेतीमा लगानी नडुब्ने भएकाले पनि युवाहरू आकर्षित हुनुभएको हो”, उनले भनिन्।
गुल्मीको आँपचौर कफीको उद्गमस्थल हो । मुसिकोट नगरपालिका-५ आँपचौरबाटै नेपालमा कफीको विस्तार भएको मानिन्छ । आँपचौरका स्थानीय हिरा गिरीले १९९५ सालमा कर्मथलो बर्माको सिन्धु प्रान्तबाट फर्किंदा कफीको बीउ लिएर रोपेपछि पहिलो पटक नेपालमा कफी खेतीको सुरुआत भएको हो ।
कफीको सुरुआत भएको झण्डै तीन दशकसम्म पनि बिरुवा अन्योलमै थियो । त्यसपछि नेपाल सरकारले भारतबाट कफीको बीउ ल्याएर वितरण गरेपछि आँपचौरमा कफीको व्यावसायिक खेती सुरु भएको स्थानीय दुर्गा खरेलको भनाइ छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया