अर्थ / बाणिज्य

माथिल्लो त्रिशूली '३ बी' का यन्त्र उपकरण केरुङमा अड्केको अड्क्यै

इकागज |
बैशाख १४, २०७८ मगलवार १४:३ बजे

१४ महिनापछि निर्माण कार्य पुन सुरु भएको माथिल्लो त्रिशूली थ्री बीमा काम गर्दै कामदार । तस्बिर आयोजना कार्यालय

काठमाडौँ  : चिनियाँ ठेकेदार कम्पनीले ल्याएको सामान चीनकै केरुङमा डेढ वर्षदेखि अड्किंदा माथिल्लो त्रिशुली थ्री बी (३७ मेगावाट) को निर्माण कार्य प्रभावित भएको छ । १४ महिनापछि आयोजनाको काम सुरु भए पनि निर्माण सामग्री र निर्माण उपकरणहरु चीनमै रोकिएको आयोजनाका प्रबन्ध सञ्चालक मोहन गौतमले बताए । उनका अनुसार विद्युत् गृह, सर्ज ट्यांक, सुरुङ निर्माणका लागि नभई नहुने विभिन्न सामान ल्याउनका लागि आयोजनाले सम्बद्ध निकायलाई आग्रह गर्दै आएको छ । 

चिनियाँ नयाँ वर्ष (२०७६ को माघ २९ गते) मनाउन घर गएका चिनियाँ कामदार कोभिड १९ का कारण फर्कन नसक्दा १४ महिनादेखि काम ठप्प रहेको हालै मात्र पुनः सञ्चालनमा आएको थियो । तर निर्माण सामग्री र उपकरण नै नभएपछि आयोजना सम्पन्न हुने अवधिलाई प्रभावित पार्न सक्ने गौतम बताउँछन् ।


केरुङमै अड्केका ती सामानहरु तीनवटा ठूला चिनियाँ ट्रकका छन् । एक चिनियाँ ट्रक बराबर तीन नेपाली ट्रक हुन्छ । यसले गर्दा नौ ट्रक सामान ल्याउन आयोजनाले लामो समयदेखि ताकेता गर्दै आएको गौतमले बताए । आयोजनाको निर्माण व्यवसायी सुइफा एएनएचई ग्रुप कम्पनी लिमिटेडले २०२० अप्रिल ३० र जून ३ मा पत्र पठाई रसुवागढीस्थित नेपाल-चीन सीमा नाका बन्द रहेका कारण केरुङमा लामो समयदेखि अड्किएकाले ती उपकरण आयोजनास्थल ल्याउने व्यवस्थाका लागि नेपाल सरकारसँग समन्वय गर्न अनुरोध गरेको थियो ।

केरुङमा अड्केका सामानहरुमा वेट स्प्रे, स्टील टेम्प्लेट, ग्यास ट्याक, ड्राइङ ओभन, स्टील स्ट्राण्ड, सिमेन्ट स्प्रेइङ मेसिन एसोसोरिज, हाइड्रोलिक डाउनहोल ड्रिललगायत दुई दर्जनभन्दा बढी छन् । यो आयोजना गत  वर्षको फागुनमा सक्ने लक्ष्य थियो । कोभिड-१९ का कारण लगातार १४ महिना काम हुन सकेन । नेपाल चीन सीमानाका बन्द भएपछि चिनियाँ कामदार उतै अड्केका थिए । ‘अब काम सुरु भएको छ, अरु कुनै विघ्‍न-बाधा नआएमा २०७९ को चैतमा पूरा गर्ने लक्ष्य छ,’ प्रबन्ध सञ्चालक गौतमले मंगलबार इकागजसँग भने ।

यो आयोजना ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत निर्माण सुरु गरिएको हो । आयोजनाको निर्माण अवधि लम्बिए पनि यसको लागतमा खासै फरक नपर्ने गौतमले बताए । लागत पहिले नै निर्धारण गरेर सम्पूर्ण निर्माणको ठेक्का (इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्स्ट्रक्सन- इपीसी) दिइएकाले लागत नबढ्ने भएको हो ।

ऊर्जा मन्त्रालयले त्रिशुली जलविद्युत कम्पनीले पठाएकाे पत्रउपर कारबाही गर्दै परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्ने भएको छ । मन्त्रालयका सहसचिव मधु भेटुवालले सामान छिटाे आपूर्ति गर्ने व्यवस्था  मिलाउन परराष्ट्रलाई पत्राचार गरिने बताए ।

यसको अनुमानित लागत तीन करोड १८ लाख अमेरिकी डलर र एक अर्ब ९१ करोड ४६ लाख नेपाली रुपैयाँ छ । इपीसी मोडेलमा चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इन्जिनियरिङसँग २९ माभ २०७४ मा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा संचालन गर्नुपर्नेछ । 

आयोजनाको ३.८ किलोमिटर मुख्य सुरुङमध्ये १.८ किलोमिटर खनिएको छ । विद्युत गृहको पहिलो चरणको खन्‍ने कार्य ७६ प्रतिशत र त्यसको टेको अड्याउने काम ३५ प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ । हालसम्म आयोजना निर्माण कार्य ४७ प्रतिशत पूरा भएको छ ।

आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ । 

अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको छ । आयोजनामा ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (५ अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ । आयोजनाबाट सुख्खायाममा (मंसिर १६ देखि जेष्ठ १५सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा ( जेष्ठ १६ देखि मंसिर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने छ । आयोजनाको विद्युत गृहबाट करिव ३ किलोमिटर प्रसारण लाइनमार्फत त्रिशूली ३ बी हब सबस्टेसनमा पुर्‍याई राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिनेछ ।  


Author

थप समाचार
x