अर्थ / बाणिज्य

न तामाकोसी आयो, न पानी पर्‍यो, न हिउँ पग्ल्यो !

पहिलोपटक भारतीय एक्सचेञ्जबाट बिजुली आयात गरिँदै

इकागज |
बैशाख १४, २०७८ १८:० बजे

काठमाडौँ : अप्रिल (चैत-वैशाख) सम्म ३५० मेगावाट बिजुली आयात गरे पुग्छ भनेर भारतसित त्यहीअनुसारको सम्झौता भयो । अप्रिलपछि तामाकोसी आउँछ, पानी पर्छ र हिउँ पनि पग्लन्छ, यहीं प्रशस्त उत्पादन हुन्छ भन्ने अनुमान गरियो । तर अप्रिलपछि न तामाकोसी आयो, न पानी पर्‍यो र न त हिउँ नै पग्ल्यो । प्राधिकरणले विगतदेखि गर्दै आएको अनुमान फेल खायो । अनुमान नमिलेपछि भारतबाट पुनः बिजुली किन्नुपर्ने भयो । तर सम्झौता छ- अप्रिलसम्म मात्रै ।

यो नयाँ परिस्थिति उत्पन्न भएपछि नेपाल विद्युत् प्राधिकरणले भारतसित एक्सचेञ्ज मार्केट (सट्टे बजार) बाट बिजुली ल्याउने भएको छ । प्राधिकरण र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच ढल्केबर-मुजफ्फपुर प्रसारण लाइनबाट मे १ देखि जून अन्त्यसम्म २०० मेगावाट विद्युतको पीपीए छ, त्यो पनि चौबीसै घण्टा होइन (नन राउण्ड द क्लक-एनआरटीसी) । उक्त २०० मेगावाट प्राधिकरणले चाहेको बेलामा लिन सक्छ । त्यो बिहान, दिउँसो, बेलुकी वा राति जति बेला पनि हुन सक्छ । 

कूल पीपीए ३५० मेगावाटबाट २०० मेगावाट कटाउँदा १५० मेगावाट मात्र प्राधिकरणले लिन पाउँछ । अब त्यो नपुग बिजुली प्राधिकरणको एक्सचेञ्ज बजारबाट ल्याउन लागेको हो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार आगामी मे १ देखि करिब २ सय मेगावाट बिजुली भारतको एक्सचेञ्ज बजारबाट खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । ‘अहिलेको अवस्था हेर्दा हामीलाई करिब चार सय मेगावाट बिजुली खरिद गर्न आवश्यक देखिन्छ,’ शाक्यले इकागजसँग भने, ‘तर एक्सचेञ्ज बजारबाट ३५० मेगावाट बिजुली हुनेछ ।’

भारतको विद्युत् मन्त्रालयले दुई साताअघि नेपाल विद्युत् प्राधिकरणलाई उसको एक्सचेञ्ज मार्केटबाट बिजुली आयात गर्न पाउने अनुमति दिएको थियो । त्यसैका आधारमा प्राधिकरणले ‘डे अहेड मार्केट’ (भोलिको लागि आजै बुकिङ गर्नुपर्ने) बाट लिन लागेको हो । 

कोभिड १९ का कारण मुलुकका विभिन्न १५ प्रमुख शहरहरुमा निषेधाज्ञा लागू हुने घोषणा भइसकेका छन् । यसले गर्दा औद्योगिक खपत घटे भारतीय आयात पनि घट्ने प्राधिकरणका अधिकारीहरु बताउँछन् । तर पहिलेको जस्तो पूर्व निर्धारित पीपीए नभएकाले जति माग छ, त्यति नै बिजुली आयात गर्न सकिने र नचाहिएको बेला लिन नपर्ने सुविधा एक्सचेञ्ज मार्केटको छ । 

यतिबेला प्राधिकरणको प्रणालीमा आन्तरिक विद्युत् उत्पादन अत्यन्त न्यून भएर भारतीय आयात ६५ प्रतिशतसम्म पुगेको छ । दुई दिनअघि मात्रै प्राधिकरणले ८१७ मेगावाट बिजुली भारतबाट आयात गरेको थियो । निजी क्षेत्रले ७७२ मेगावाट बिजुली (जडित क्षमता) वर्षायाममा मात्र उत्पादन गर्न सक्छन् । यो बेला भने निजी क्षेत्रको पुग नपुग २ सय मेगावाट मात्र उत्पादन छ । जडित क्षमता निजी क्षेत्रको भन्दा कम (६४६ मेगावाट) भए पनि प्राधिकरणले अहिलेको सुख्खायममा ४६५ मेगावाटसम्म उत्पादन गर्न सक्छ । प्रणालीलाई नपुगेको बिजुली भारतबाट आयात भइरहेको हो । 

प्राधिकरणका अनुसार यसपालिको वैशाखदेखि माथिल्लो तामाकोसी (४५६ मेगावाटमध्ये पहिलो युनिट ७६ मेगावाट) सञ्चालनमा आउने अनुमान गरेको थियो । तर वैशाख दोस्रो साताबाट बल्ल बाँध र सुरुङमा पानी भरेर परीक्षण गर्न लागिएको छ । परीक्षणका सबै प्रक्रिया पूरा गर्दा आगामी जेठ पहिलो सातासम्म माथिल्लो तामाकोसीको एउटा युनिट आउने अनुमान छ । 

त्यसबाहेक वैशाखदेखि पानी परी नदीहरुमा जलस्तर वृद्धि भई बिजुली उत्पादन पनि बढ्ने परम्परागत प्रक्रियाविपरीत यसपालि पानी परेन । त्यसले गर्दा निजी र प्राधिकरण दुवैका बिजुली उत्पादन स्वात्तै घट्न पुग्यो । अर्काे, यसपालि हिउँ पनि पग्लेन । हिउँ नपग्लँदा हिमनदी (कालीगण्डकी, मर्स्याङ्दी, त्रिशुली आदि) हरुमा जलस्तर बढ्न सकेन । यसले पनि बिजुली उत्पादनलाई असर गर्‍यो । 

केही दिनदेखि भारतको विद्युत् एक्सचेञ्ज बजारमा बिजुलीको मूल्य ओह्रालो लागेको छ । कोभिड-१९ को अवस्थाले भारतमा पनि विद्युत् माग घट्न गई एक्सचेञ्ज बजारको विद्युत् खरिद सस्तो पर्ने हुँदा प्राधिकरणलाई कम वित्तीय भार पर्न सक्ने देखिन्छ । भारतीय विद्युत् मन्त्रालयले नेपाललाई एक्सचेञ्ज बजारको अनुमति दिएको दिन प्रतियुनिट बिजुली ११ रुपैयाँभन्दा बढी थियो । आजको मूल्य प्रतियुनि पाँच रुपैयाँ २ पैसा छ । 



Author

थप समाचार