हेटौंडामा राष्ट्रिय औद्याेगिक व्यापार महोत्सव हुने
मकवानपुर । हेटौंडामा राष्ट्रिय औद्याेगिक व्यापार महोत्सव हुने भएकाे छ । जिल्लामा रोजगारी, कृषि, सूचना प्रविधि, पर्यटन, व्यापार तथा जिल्लाको आर्थिक विकासमा टेवा पुयाउने उद्देश्यका साथ मकवानपुर उद्योग वाणिज्य संघले महोत्सव गर्न लागेको हो ।
महोत्सवले यस क्षेत्रको आर्थिक, सामाजिक तथा पर्यटकीय विकासमा मद्दत पुर्याउने उद्देश्यका साथ संघले विभिन्न समयमा मेला, प्रदर्शनी तथा व्यापार प्रवर्द्धनको लागि महोत्सव गर्दै आएको छ । महोत्सवबाट उत्पादक तथा उपभोक्ताहरुबीच सोझो सम्पर्क कायम हुने, आन्तरिक तथा बाह्य पर्यटकीय विकासमा मद्दत पुग्ने, गुणात्मक प्रतिस्पर्धाको विकास हुने, स्थानीय वस्तु तथा उत्पादनहरुको बजार प्रवर्द्धन हुने, नयाँ वस्तु, सेवा तथा अवसरहरुको पहिचान हुने, आर्थिक, सामाजिक, साँस्कृतिक क्षेत्रको विकासमा सहयोग पुग्ने, बजार प्रवर्द्धनका लागि दर्शक, व्यवसायी तथा सरोकारवालाहरुबाट सुझाव प्राप्त हुने, व्यवसायिक चुनौती तथा अवसरबारे जानकारी प्रायोजक प्राप्त हुने अपेक्षा गरिएको अध्यक्ष कृष्ण गुप्ता अग्रवालले बताए ।
महोत्सवमा विभिन्न क्षेत्रहरु कृषि, व्यापार, उद्योग, सूचना प्रविधि, पर्यटन, अटो, होटल, शैक्षिक संस्था, सरकारी, गैरसरकारी संघसंस्था, महिला उद्यमीका उत्पादन तथा सेवाहरुका स्टलहरु रहनेछन् । साथै आकर्षणको रुपमा दैनिक विभिन्न जनजातिको स्थानीय भेषभुषामा साँस्कृतिक कार्यक्रमका स्थानीय तथा राष्ट्रिय कलाकारहरुको विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु रहने आयोजकले जनाएको छ ।
यसैगरी बालबालिकाहरुको मनोरञ्जनका लागि बाल उद्यानकोसमेत व्यवस्था गरिनेछ । यस पटक गायन तथा नृत्य प्रतिभा प्रोत्साहन तथा प्रवद्र्धनका लागि हेटौंडा आइडल तथा डान्सीङ स्टार कार्यक्रम तय गरिएको छ । विभिन्न पेशा, व्यवसाय, उद्योगमा संलग्न व्यक्ति, युवा, बृद्ध तथा विद्यार्थी गरी करिब २ लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको संघका अध्यक्ष अग्रवालले बताए ।
महोत्सवका प्रमुख आकर्षणको रुपमा बहुराष्ट्रिय, राष्ट्रिय तथा ठूला साना उद्योगहरुका उत्पादनहरु, स्थानीय तथा राष्ट्रिय उत्पादन तथा सेवाहरुको बृहत व्यापार मेला, सूचना प्रविधि, हस्तकला प्रर्दशनी, कृषि उत्पादनको प्रदर्शनी, क्रेता बिक्रेता अन्तरक्रिया कार्यक्रम, स्थानीय तथा राष्ट्रिय कलाकारहरुद्वारा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, राष्ट्रिय स्तरका व्यावसायिक गोष्ठी तथा सेमिनार, वित्तीय तथा सेवामूलक संघसंस्थाहरुको सेवा, शैक्षिक, घरजग्गा तथा हाउजिङ्ग, अटोको स्टलहरु रहने छन् । यसैगरी खाना तथा सांस्कृतिक मेला, पर्यटन प्रवर्द्धनका विविध कार्यक्रमहरु, बाल उद्यानको व्यवस्था, हेलिकप्टर टुर, खाना महोत्सव व्यवस्था, सवारी साधनहरु हेभी इक्वीपमेन्ट, राष्ट्रिय स्तरका उद्योगहरुको उत्पादन प्रर्दशनीहरु हुनेछ । संघले २०४३, २०५३, २०५५, २०५६ सालमा आयोजना गरिएको थियो भने विस २०६६ मा मध्यमाञ्चल औद्योगिक व्यापार मेला तथा २०६८, २०७०, २०७२ र २०७५ सालमा राष्ट्रिय औद्योगिक व्यापार मेला गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया