अर्थ / बाणिज्य

हिमालय एयरलाइन्सले पाएको सेल्फ ग्राउन्ड ह्याण्डलिङ्ग सेवा खारेज, निगमलाई राहत

अतिन आचार्य |
पुस ७, २०७९ बिहीबार १८:२१ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ्ग सेवा खारेज गरिदिएको छ ।  

प्राधिकरणले बिहीबार निर्णय गरी आगामी दिनमा विमानस्थलमा हिमालय एयरलाइन्सले पाएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ्ग गर्न नपाउने गरी खारेज गरिदिएको  हो ।


प्राधिकरणले विमानस्थलमा हिमालय एयरलाइन्सलाई सेल्फ ह्याण्डलिङ्ग प्रयोजनका लागि इक्युपमेन्ट यन्त्र उपकरण व्यवस्थापन गर्ने स्थान नभएकाले थप समय उपलब्ध नगराउने जनाएको छ ।

प्राधिकरणका अनुसार हिमालय २०७७ असोज ४ गते प्रदान गरिएको सेल्फ ह्याण्डलिङ्ग सेवाको नवीकरण हुने छैन । प्राधिकरणका उपप्रबन्ध ज्ञानेन्द्र भूलले पुस ४ गतेको निर्णय अनुसार हिमालय एयरलाइन्सलाई ह्याण्डलिङ्ग थप सेवा प्रदान नगर्ने बताए ।

वायुयानहरूको ग्राउण्ड ह्ययाण्डलिङ्ग तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका, २०७२ को दफा (४) बमोजिम हप्ताको ३५ वटाभन्दा बढी नियमित उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले सेल्फ ह्ययाण्डलिङ्ग गर्न पाउने नियमानुसार हिमालय एयरलाइन्सलाई २०७७ असोज ४ गते सेल्फ ह्ययाण्डलिङ्ग गर्नलाई प्राधिकरणले अनुमति दिएको थियो ।

निर्देशिका बमोजिम अनुमति पाएको १ वर्ष सम्म एयरलाइन्सले ग्राउण्ड इक्युपमेन्ट सामग्री खरिद गरेर पनि प्रयोगमा नल्याएको भूलले जानकारी दिए । 

प्राधिकरणले नेपाल वायुसेवा निगमको वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै निगमलाई संरक्षण गर्नु प्राधिकरणको दायित्व रहेकाले निजीले पाएको ह्ययाण्डलिङ्ग सेवा खारेज गरी निगमको हितमा गरेको उनले उल्लेख गरे ।

हिमालय एयरलाइन्सलाई सेल्फ ह्ययाण्डलिङ्गको अनुमति दिँदा भूलले निगमको आम्दानी करिब २० प्रतिशत गुम्ने भएकाले निगमको आर्थिक हितमा निर्णय गरेको बताए ।

प्राधिकरणले हिमालय एयरलाइन्सको ह्ययाण्डलिङ्ग सेवा खारेज गरेसँगै अबदेखि नेपाल वायुसेवा निगमले मात्र विमानको ग्राउण्ड ह्याण्डलिङ्गको सेवा पाउनेछ । निगमको आर्थिक उन्नतिको हित चाहँदै निजी एयरलाइन्सले ह्याण्डलिङ्ग पाएको सेवा खारेज गरिदिएको उनले बताए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x