अर्थ / बाणिज्य

नागरिकलाई निषेधाज्ञा, दुई मन्त्री हेलिकप्टर चढेर तामाकोसी

कांग्रेसले गर्‍यो विरोध

इकागज |
बैशाख १६, २०७८ बिहीबार १४:३४ बजे

काठमाडौँ : निषेधाज्ञा लगाएर नागरिकलाई घरभित्र कोचेको सरकारका दुई मन्त्रीले हेलिकप्टर चढेर माथिल्लो तामाकोसीको ‘अनुगमन’ गरेका छन् ।सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ बाँधस्थलको पानी सुरुङभित्र पठाउन बटन थिच्न आयोजनास्थल दोलखाको लामाबगर पुगेका हुन् ।

यसअघि ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र सञ्चार मन्त्री गुरुङ गत आइतबार नै तामाकोसी आयोजनास्थल जाने निधो गरी कर्मचारीहरुलाई आवश्यक बन्दोबस्त गर्न निर्देशन दिइएको थियो । आयोजनाका कर्मचारी मन्त्रीद्वय आउन लागेको थाहा पाएर रुष्ट भएको समाचार इकागजले प्रसारित गरेपछि रायमाझीको भ्रमण आइतबारलाई रोकिएको थियो । हाल रायमाझी कोभिड-१९ संक्रमित भई उपचाररत छन् ।


आयोजनाका केही कर्मचारीलाई कोरोना संक्रमण भएपछि आयोजनाले सूचनै निकालेर बाहिरका व्यक्तिलाई निर्माणस्थलमा आउन रोक लगाएको थियो । यता नेपाली कांग्रेस दोलखाले भने मन्त्रीद्वयको अनावश्यक भ्रमण पानी छिराउने उद्घाटन कार्यक्रमको विरोध गरेको छ । कांग्रेसले आज एक विज्ञप्ति जारी गरी पानीको बटन थिच्ने कामको अनुगमनका नाममा फजुल खर्चगराउने दोलखाकै सांसदसमेत रहेका मन्त्री गुरुङको कमदको घोर निन्दा र भर्त्सना गरेको हो ।

दोलखा कांग्रेसका सचिव सूर्यबहादुर आचार्य (बालकृष्ण) र सचिव सन्तोष रिमालको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘अनुगमनका नाममा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई फजुल खर्च गराउने गरी आयोजनास्थल आउन लागेका मन्त्रीद्वयको कदमको घोर भत्र्सना गर्दै महामारी नियन्त्रणमा असफल वर्तमान सरकारविरुद्ध सशत्त प्रतिरोधमा उत्रिन सबै दालेखाबासीलाई अपील गर्न चाहन्छौं ।’


Author

थप समाचार
x