भेरी बबई डाइभर्सन : कोभिडको कारण देखाउँदै करिब १० करोडको ठेक्का रद्द
काठमाडौं : कोभिड-१९ दोस्रो लहरको संक्रमणको कारण देखाउँदै भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको चार वटा ठेक्का रद्द भएको छ । बोलपत्र खुलेको तीन महिनामा आयोजनाले ठेक्का रद्द गरेको हो ।
आर्थिक वर्षको बाँकी रहेको समयावधि न्यून रहेकाले ठेक्काको काम गर्न सक्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै ठेक्का तोडिएको आयोजनाका सूचना अधिकारी ईश्वरीप्रसाद तिवारीले बताए । गत माघ १४ मा आयोजनाले २५ वटा ठेक्काका लागि बोलपत्र आह्वान गरेको थियो । तीमध्ये चार ठेक्का रद्द भएको उनले जानकारी दिए ।
सोलार लिफ्ट सम्बन्धी पूर्वाधारका लागि ठेक्का खुलेको थियो । उनले भने, 'धेरैपटक ठेक्का खुलेर रद्द भएको छ । मान्छे नपाइने समस्या छ । अहिले त कोभिड पनि फैलियो । आर्थिक वर्ष सकिनै लाग्दा काम नहुने देखिएपछि ठेक्का रद्द गरिएको हो ।'
बैशाख १५ बाट सुर्खेतमा समेत निषेधाज्ञा जारी रहेकाले काम हुन नसक्ने निष्कर्षमा आयोजना पुगेको तिवारीले बताए । प्रत्येक ठेक्का २ करोड रुपैयाँभन्दा माथिका छन् । कार्यक्रम संशोधन गर्ने समेत तयारी गरिरहेको उनले बताए ।
बर्खा सुरु हुनुअघि हेडवर्क्स निर्माणमा आयोजना केन्द्रित रहेको सूचना अधिकारी तिवारीले बताए । 'बर्खा लागेपछि खोला बढ्न थाल्छ । यसले हेडवर्क्सको कामलाई असर गर्ने भएकाले हेडवर्क्स छिटो भ्याउने गरि काम भइरहेको छ, ' उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया