अर्थ / बाणिज्य

भारतीय पावर एक्सचेञ्‍ज बजारमा नेपालको बिड सफल

भोलिदेखि २५० मेगावाटसम्म बिजुली प्रतिस्पर्धाबाट

विकास थापा |
बैशाख १७, २०७८ शुक्रबार २०:१० बजे

काठमाडौँ : नेपालले भोलि शनिबारदेखि भारतीय पावर एक्सचेञ्जबाट २ सय देखि २५० मेगावाटसम्म बिजुली खुला बजारबाट लिने भएको छ । प्राधिकरणले एकदिन अगावै गरेको प्रतिस्पर्धा (बीड) मा सफल भएको छ । प्रतियुनिट तीन रुपैयाँ १ पैसा भारु (नेरु ५.०८) मा बिजुली लिने सहमति भएको हो । केही दिनअघि भारतको विद्युत् मन्त्रालयले नेपाललाई उसको पावर एक्सचेञ्ज मार्केटबाट बिजुली खरिद गर्न अनुमति दिएको थियो ।

प्राधिकरणका एक अधिकारीका अनुसार भारतको एनभीभीएनमार्फत एक दिन अघि (डे अहेड मार्केट) बुकिङ गरी भोलि शनिबारदेखि बिजुली आउन लागेको हो ।
हाल ढल्केबर मुजफ्फपुर अन्तर्देशीय प्रसारण लाइनमार्फत प्राधिकरणले प्रतियुनिट ४.१८ भारु (नेरु ६.६६८) गर्दै आएको छ । भोलिको बजार मूल्यअनुसार प्राधिकरणले एक युनिट बिजुलीमा करिब ६० पैसा फाइदा भएको छ । प्राधिकरणले भोलिका लागि आयात गर्ने बिजुलीको परिमाण अनुसार १९ लाख ५ हजार पाँच सय भारु (३० लाख ४८ हजार ८ सय रुपैयाँ) बचत हुने भएको छ ।


एनभीभीएनले भारतीय पावर एक्सचेञ्जलाई प्रतियुनिट ३.२९ भारु तिर्छ । त्यसमा दलाल शुल्क, प्रसारण शुल्क र अन्य शुल्क गरी ५२ पैसा (भारु) तिर्नुपर्ने हुँदा एक युनिट बिजुलीको ६.०९६ (नेरु) पर्न गएको हो । प्राधिकरण र भारतीय एनभीभीएनसँग भएको विद्युत् खरिद सम्झौता (पीपीए) अनुसार आज राति १२ बजेसम्म मात्र ३५० मेगावाट बिजुली आयात गर्न पाइन्छ ।

१२ बजेपछि उसले १५० मेगावाट मात्र बिजुली दिने र २ सय देखि २५० मेगावाटसम्म ढल्केबरकै सोही लाइनबाट पावर एक्सचेञ्जको बिजुली दिनेछ । ‘अब ढल्केबर मुजफ्फपुर प्रसारण लाइनबाट दुईथरि बिजुली आउनेभयो,’ स्रोतले भन्यो, ‘पीपीएको र एक्सचेञ्जको ।’

कोभिड १९ को मारमा परेको भारतमा यतिबेला खुला बजारमा बिजुलीको भाउ सस्तो भएको हो । प्राधिकरणले महँगो भएको बेला कम लिने वा अन्य उपाय अपनाउने भएको छ । भारतको एक्सचेञ्ज बजारबाट आउने बिजुलीको भाउ हरेक १५ मिनेटमा परिवर्तन हुन्छ । २४ घण्टा बिजुली आयात गर्दा ९६ वटा ब्लक हुन्छ । उक्त ९६ वटा ब्लकको औसत मूल्य आजलाई ३ रुपैयाँ २९ पैसा (भारु) परेको हो । शेयर बजारमा शेयरको भाउ तलमाथि भएजस्तै भारतीय पावर एक्सचेञ्ज बजारमा पनि १५, १५ मिनेटमा बिजुलीको भाउ फरक पर्ने गर्छ । 


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x