कुलमान घिसिङले जोगाएको तामाकोसी पाँचौंको इन्जिनियरिङ पूरा
काठमाडौँ : तामाकोसी पाँचौ (९८ मेगावाट) जलविद्युत् आयोजनाको विस्तृत इन्जिनियरिङ पूरा भएको छ । जर्मनको ट्रयाक्टबेल इन्जिनियरिङ जीएमवीएच (ल्यामेयर इन्टरनेशनल) ले साढे दुई वर्ष लगाएर आयोजनाको विस्तृत इन्जिनियरिङ गरेको हो ।
तामाकोसी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसीबमान प्रधानले इन्जिनियरिङ पूरा भएकाले अब छिट्टै यसको वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता हुन लागेको जानकारी दिए । १६ अर्ब रुपैयाँ लागत रहेको यो आयोजनामा एसिएन इन्फ्रास्ट्रक्चर बैंक (एआईआईबी) ले चासो देखाएको छ । यो बहुपक्षीय दातृ निकायका अतिरिक्त तामाकोसी पाँचौंको सम्पूर्ण ऋण लगानी गर्न कर्मचारी सञ्चय कोष पनि तयार छ ।
प्रधानका अनुसार दुवै निकायसँग कुराकानी भइरहेको छ । अर्थ मन्त्रालयमार्फत एआईआईबीसँग लगानीसम्बन्धी नेगोसियसन (वार्ता) भइरहेको प्रधानले बताए । ‘जुन छिटो आउँछ, हामी उसैसँग सम्झौता गर्छौँ ’, प्रधानले इकागजसँग भने, ‘कोभिड १९ का कारण वित्तीय व्यवस्थापन सम्झौतामा ढिलाइ भइरहेको छ,, अबको दुई चार महिनाभित्र सम्झौता हुने हाम्रो अपेक्षा छ ।’ यो आयोजनामा सर्वसाधारणलाई मालिक बनाउने उद्देश्यले जनताको जलविद्युत् घोषित गरिएको छ ।
आयोजनाको कूल लागतको १० प्रतिशत खर्च भइसकेपछि सर्वसाधारणका लागि शेयर निष्कासन हुनेछ । जनताको जलविद्युत्को अवधारणाकार पूर्व ऊर्जा मन्त्री जनार्दन शर्मा हुन् । आयोजनाको वित्तीय संरचनाअनुसार ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण छ । यही ७० प्रतिशत ऋण दिन एआईआईबी र सञ्चय कोष दुवै आतुर छन् । ० प्रतिशत स्वपुँजीमध्ये ५१ प्रतिशत विद्युत् प्राधिकरण तथा विभिन्न सरकारी निकायको शेयर रहने र बाँकी जनताको रहने प्रधानले बताए ।
तामाकोसी पाँचौं माथिल्लो तामाकोसीको क्यासकेड हो । माथिल्लो तामाकोसी (४५६ मेगावाट) बाट विद्युत् उत्पादन भई खोलामा खसाउनुपर्ने पानी तामाकोसी पाँचौंको सुरुङभित्र हुलिन्छ । यसलाई क्यासकेड भनिन्छ । तामाकोसी पाँचौंलाई बाँध र मुहान (हेड वर्क्स) बनाइरहनु नपर्ने भएकाले यस्ता क्यासकेडका आयोजना सस्तो हुन्छन् ।
यो आयोजना हात पार्न स्वदेशी तथा विदेशी प्रवर्द्धकहरुले निकै दौडधुप गरेका थिए । प्राधिकरणको अघिल्ला कार्यकारी निर्देशक कुलमान घिसिङले उच्च राजनीतिक तहको दबाब थेगेर यो आयोजना जोगाएका थिए । तामाकोसी पाँचौंमा बाँध र मुहान बनाउनु नपर्ने भएकाले करिब चार अर्ब रुपैयाँ त्यसै सस्तो पर्न जाने हुँदा स्वदेशी तथा विदेशी प्रवर्द्धक लालायित थिए । कुलमानको दोहोर्याएर नियुक्ति नहुनुका धेरै कारणमध्ये तामाकोसी पाँचौ बेचबखन गर्न नपाउनु पनि प्रमुख थियो ।
आयोजनाले अधिकांश जग्गा अधिग्रहण गरिसकेको प्रधानले बताए । आवास गृह निर्माण कार्य भइरहेको र माथिल्लो तामाकोसीले बिजुली उत्पादन गरी निसृत हुने पानी सुरुङमा हुल्न (इन्टरकनेक्सन सिष्टम) पूर्वाधार तयार भइसकेको प्रधानको भनाइ छ । माथिल्लो तामाकोसीले मुलुकको विद्युत् प्रणालीमा उच्चतम माग (पिक) भएका बेला दैनिक ६ घण्टा ४५६ मेगावाटै बिजुली उत्पादन गर्ने भएकाले तामाकोसी पाँचौंले पनि ६ नै घण्टा जडित क्षमताअनुसार उत्पादन गर्ने प्रधानले बताए । बिहान २ घण्टा र बेलुकी ४ घण्टा पिकिङ ऊर्जा उपलब्धता हुने हुनाले मुलुकको विद्युत् प्रणालीमा समेत यसको ठूलो महत्व हुनेछ ।
तामाकोसी पाँचौंले वार्षिक ५ करोड २९ लाख युनिट बिजुली उत्पादन गर्छ । यसको निर्माण अवधि चार वर्ष अनुमान गरिएको छ । आयोजना अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्तिको प्रक्रिया पनि अघि बढाइसकेको छ । वित्तीय व्यवस्थापन, जग्गा अधिग्रहण, वन स्वीकृतिलगायत सबै प्रक्रिया पूरा गरी अर्को आर्थिक वर्षदेखि यसको मुख्य संरचना निर्माण कार्य सुरु हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया