अर्थ / बाणिज्य

जुम्लाको चन्दननाथमा साना जलविद्युत प्लान्टको पुनःस्थापना

इकागज |
बैशाख २२, २०७८ बुधबार १८:१६ बजे

काठमाडौं : जुम्लाको चन्दननाथ नगरपालिकामा पुनर्स्थापना गरिएको साना जलविद्युत प्लान्टको बुधबार भारतीय राजदूतावासका प्रथम सचिव (विकास साझेदारी तथा पुनर्निर्माण प्रभाग) करुण वंशल र जिल्ला समन्वय समिति, जुम्ला तथा नेपाल विद्युत प्राधिकरण, जुम्लाद्वारा भर्चुअल माध्यममार्फत उद्घाटन गरिएको छ । यो जलविद्युत भारत सरकारको २ करोड ६३ लाख आर्थिक सहयोगमा बनेको हो ।

२०० किलोवाट विद्युत उत्पादन क्षमता भएको यस जलविद्युत प्लान्टको निर्माण नेपाल विद्युत प्राधिकरणले सन् १९८३ मा गरेको हो । प्राकृतिक विपदका कारण उक्त प्लान्टमा क्षति पुगेको थियो । उपभोक्ता समिति, स्थानीय बासिन्दा र जिल्ला समन्वय समिति, जुम्लाको विशेष अनुरोधमा उक्त पावर प्लान्टको पुनस्थापनाका लागि भारत सरकारले आर्थिक सहयोग गरेको हो ।


‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको अनुदानमा जलाशय ट्याङ्कीको निर्माण र जलविद्युत प्लान्टको पुनर्स्थापना गरिएको हो । जिल्लाको चन्दननाथ नगरपालिकाका करिब २० हजार मानिसहरू यस प्लान्टबाट लाभान्वित बताइएको छ ।

भारतले नेपालमा ४५० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु सम्पन्न गरिसकेको छ जसमध्ये जुम्ला जिल्लाका २ वटा परियोजना सहित १० वटा परियोजनाहरु प्रदेश नं ६ मा रहेका छन् । भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित प्रदेश नं ६ का ४ वटा परियोजनाहरु निर्माण र कार्यान्वयनका विभिन्न चरणमा रहेका छन् । यी बाहेक भारतीय राजदूतावासले जुम्ला जिल्लाका विभिन्न स्वास्थ्य चौकी तथा गैरसरकारी संस्थालाई ५ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ ।


Author

थप समाचार
x