अर्थ / बाणिज्य

एयरहोस्टेसले ३५ हजार फिटमाथि जन्मदिन मनाउँदा...!

इकागज |
बैशाख २४, २०७८ शुक्रवार १६:४६ बजे

काठमाडौँ : जन्मदिन त्यसै पनि सम्बद्ध व्यक्तिका लागि उत्सव हुन पुग्छ । अन्य सामान्य व्यक्ति आफ्नो घरपरिवारसँग बसेर जन्म दिन मनाउँछन् । तर उड्डयन क्षेत्रका कर्मचारीहरुले जन्मदिनकै लागि भनेर छुट्टी पाउँदैनन् । तर, आफ्नो साथीको जन्मदिन त्यसै खेर जान कहाँ दिन्छन् र ? नेपाल वायुसेवा निगमका विमान परिचारिकाहरुले आफ्नो साथीको जन्मोत्सव ३५ हजार फिटभन्दा माथिको आकाशमा मनाए । 

निगमको जहाज ९ एन एकेएक्स (न्यारोबडी) जहाज गत बैशाख १४ गते काठमाडौँबाट दुबईका लागि उड्यो । जहाज जब ३५ हजार फिटमाथि पुग्यो, ग्याली नं. १ (ककपिटपछाडि र बिजनेस क्लास अगाडिको खाली ठाउँ) मा केक काटियो ।  त्यस दिन सिनियर एयर होस्टेस निलीमा शाहीको जन्मदिन रहेछ । निलीमाले केक काटिन् । अरु एअर होस्टेसहरु समिता घिमिरे, सोनी सदाशंकर र पूर्णिया खड्काले ताली पड्काएर ‘ह्यापी बर्थ डे टु यु’ घन्काए । 


काटिएको केक फस्ट पाइलट अरविन्दराज पहाडी र कोपाइलट राकेश काफ्लेलाई पनि दिए । उक्त उडानमा चारजना पाइलट थिए । दुई जना सुतेर जाने, दुई जना उडाएर जाने । कोभिड–१९ को कहरले गर्दा निगमका पाइलटहरु अरु देशका होटलमा बस्ने गर्दैनन् । सुतेर गएकाहरुले भोलिपल्ट वा त्यस दिन उडाएर ल्याउँछन् । उडाएर गएकाहरु भने सुतेर आउने गर्छन् । होटलमा बस्न नपाउने भएकाले दुई सेट पाइलट, दुई सेट विमान परिचारिका जाने आउने गर्छन् । त्यसदिन चिफ एयर होस्टेस सुमिली जुहार्चन (चिफ अफ क्याबिन क्रू) पनि थिइन् । उनीचाहिं सुतेर जानेमा परेकी थिइन् । जुहार्चनसहित अन्य तीन एयर होस्टेस पनि आराम गर्नुपर्ने भएकाले सुते । जहाजमा १४० यात्रु थिए ।

यी चार एयर होस्टेसको जिम्मा विमानको चारवटा ढोकामा बस्नु हो । जन्म दिन मनाउँदा केही छिनका लागि ढोका खाली भए । एयर होस्टेसको काम कुनै यात्रुले शौचालयको ढोका भन्ठानेर विमानकै ढोका खोल्न जाला भनेर सतर्क गराउनु र रहनु पनि हो । ‘यत्ति चाहिं ल्याप्सेस भयो,’ स्रोतले भन्यो, ‘यात्रुले विमानकै ढोका खुल्ने प्रयास गरेको विगत छ ।’

३५ हजार फिटमा तीव्र गतिले उडिरहेको जहाजभित्र हावा छिर्ने मसिनो ठाउँ पायो भने पनि त्यसले ठूलो दुर्घटना निम्त्याउने गर्छ । बाहिरी हावामा तीव्र चाप हुनाले सानो प्वाललाई पनि ठूलो भ्वाङ बनाइदिने खतरा रहने पाइलटहरु बताउँछन् । सामान्यतया विमानभित्र जन्म दिन मनाउनै नपाइने होइन । तर माथि उडिरहेको विमानमा ढोकै छाडेर केक काटिरहँदा धन्न त्यो दिन कुनै अप्रिय घटना भएन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल उडिरहेको विमानमा जन्मदिन मनाउनु नियमले निषेध गरेको कुरा होइन भन्छन् । उनका अनुसार तीनवटा अवस्थामा विमानका कर्मचारीहरुले केही पनि गर्नु हुँदैन । पहिलो उड्नका लागि पार्किङबाट रन वेसम्म जाने बेला (ट्याक्सिङ), दोस्रो, टेक अफ (उड्ने) गर्दा र तेस्रो ल्याण्डिङ (अवतरण) गर्ने बेलामा । 

‘विमानमा जन्मदिन मनाउनु सामान्य कुरा हो,’ पोखरेलले इकागजसँग भने, ‘उहाँहरुले कुनै नियम तोड्नु भएको छैन ।


Author

थप समाचार
x