अर्थ / बाणिज्य

अवकाशपछि कालिज पालन

इकागज |
चैत १३, २०७९ सोमबार २०:१९ बजे

दाङ- तुलसीपुर उपमहानगरपालिका–१० नयाँ गाउँमा वडा नं ६ निवासी विष्णुमणि आचार्यले व्यावसायिक रूपले कालिज पालन गरेका छन् ।

सोही पेसामा रमाएका उनको दिनचर्या कालिजलाई दानापानी खुवाउन र रेखदेखमा बित्ने गरेको छ । अवकाश प्राप्त राष्ट्रसेवक आचार्य भन्छन्, 'अवकाश भएपछि चार महिनासम्म घरमै बसेँ । दिनभर घरपरिवार साथीभाइ तथा आफन्तसँग त्यत्तिकै बसेर समय बिताउँथे । तीस वर्षसम्म जागिरमा व्यस्त भएको मान्छे अब यसरी सधैं कसरी बस्नुजस्तो लागेकाले यो व्यवसाय सुरु गरेको हुँ ।'


सुरुमा सामाजिक सञ्जाल (युटुब)मार्फत व्यावसायिक रूपमा पालन  गरिएका कालिजको भिडियो हेरेँ । त्यसपछि कालिजपालन गरिएको जिल्लाका दुई ठाउँमा पुगेँ । घरमा फर्केपछि उत्साहित भएर यो व्यवसाय सुरु गरेको उनी उल्लेख गर्छन् ।

'दाङ उपत्यका कालिज पाल्न उपयुक्त वातावरण भएको भन्ने थाहा पाएरै यो व्यावसाय सुरुआत गरेको हुँ अहिलेसम्म तीन सय भन्दा बढी कालिज बिक्री गरिसकेँ । अझै पाँच सय वटा बिक्रीका लागि तयारी अवस्थामा छन्,' आचार्य भन्छन् । उनले ‘चाणक्य मल्टी प्रपोज एग्रो फार्म एण्ड रिसर्च सेन्टर’ प्राली खोलेर रु २५ लाखको लागतमा कालिजपालन सुरु गरेका हुन् । 

ह्याचिङ गरी उत्पादन गरिएका एक दिनका १८१ बचेरा रु पाँच सय ५० दरले किनेर यो व्यवसाय सुरुआत गरेका आचार्यको व्यवसाय अहिले फस्टाउँदै गएको छ । उनले एक जनालाई रोजगारी दिएका छन् ।

आचार्यका अनुसार ३५ डिग्री सेल्सियसभन्दा कम तापक्रम हुने स्थान कालिज पाल्न राम्रो मानिन्छ । दाङको तापक्रम लगभग त्यस्तै छ । 'अहिलेसम्म पाँच सय  कालिज बिक्री गरिसकेँ । सुरुमा एउटा कालिजलाई दुई हजार पाँच सयमा बिक्री गरेँ । अहिले भने दुई हजारसम्ममा दिने गरेको छु । अण्डा पनि राम्रोसँग बिक्री भएको छ । एउटा  अण्डा बिक्रीबाट रु  एक सय आम्दानी हुने गरेको छ । सुरुआतमै धेरै आम्दानीको अपेक्षा लिन हुँदैन बिस्तारै आम्दानी हुन्छ,' उनी भन्छन् ।

छ महिना पुगेपछि कालिज वयस्क हुन्छ र मासुका लागि उपयुक्त मानिन्छ । भाले कालिज एकदेखि डेढ केजीसम्म र पोथी आठ सय ग्रामदेखि एक केजीसम्मको हुन्छ । कालिजले घाँस, मकै खान्छ । अण्डा दिने पोथीका लागि दाना पनि दिन उपयुक्त हुन्छ । कालिजलाई हालसम्म कुनै रोग नलागेकाले औषधि पनि दिनुपरेको छैन तर अवलोकन तथा खरिद गर्ने जानेलाई जुत्ता, चप्पल खोलेर खुट्टामा औषधि छर्केर मात्र नजिक जान दिने उनले गरेका छन् ।

'कालिज फुर्तिलो र लडाकू स्वभावको हुन्छ । त्यसैले चुच्चो मुखमा क्याप लगाउनुपर्छ । विदेशमा त्यही गरिन्छ । यहाँ भने त्यसो गरिएको छैन उनीहरू लड्न लागेपछि औजारको सहायताले छुट्याउने र केही समय छट्टै ठाउँमा राख्ने गरेको छु,' आचार्य भन्छन् ।

भाले र पोथी कालिजलाई छुट्टाछुट्टै राखिएको र अहिले पोथी बिक्री नगरी अण्डालाई ह्याचिङ गरी बचेरा निकाल्नका लागि तयारी गरिएको उनको भनाइ छ । 
'बजारमा माग त धेरै छ, तर यो वर्ष पोथी कालिज र बच्चा एउटा पनि नबेची  धेरै उत्पादन भएमा अर्को वर्षदेखि मात्रै बिक्री गर्छु,' आचार्य भन्छन् । पढेलेखेकाले  पैसा कमाउनकै लागि जागिर खानै पर्ने या विदेश नै जानुपर्छ भन्ने छैन तर राज्यले पनि किसानलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउनुपर्नेमा उनी जोड दिन्छन् । रासस


Author

थप समाचार
x