अर्थ / बाणिज्य

विशालबजारको सेयर भाउमा अस्वाभाविक उतारचढाव, चलखेल भएको हो ?

मूल्यमा सर्किटब्रेकर : हिजो नकारात्मक, आज सकारात्मक

इकागज |
बैशाख २९, २०७८ बुधबार १२:३४ बजे

काठमाडौं : केही दिनयता विशाल बजार कम्पनीको सेयर मूल्यमा अस्वाभाविक उतारचढाव देखिएको छ  । मंगलबार सेयर मूल्य घटेर सर्किट ब्रेकर लागेको थियो । दोस्रो दिन कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको छ । 

एकैदिनको फरकमा अधिकतम् गिरावट र वृद्धि अस्वाभाविक भएको धितोपत्र बोर्डका पूर्व अध्यक्ष डा. रेवतबहादुर कार्कीले बताए । 'हिजो १० प्रतिशतले घट्ने र आज ९.९९ प्रतिशतले बढ्ने, यो त बिल्कुल अस्वाभाविक छ  । प्लेयर कति चलाख भने १० प्रतिशतमा कारोबार रोकिन्छ भनेर ९.९९ प्रतिशत पुर्‍याएछन् ,' उनले भने । 


यसरी अस्वाभाविक सेयर कारोबार भएको कम्पनीमाथि छानबिन गर्नुपर्ने पूर्व अध्यक्ष कार्कीले बताए । कम्पनीको सेयर किनबेचमा 'इनसाइड ट्रेडिङ' गरेर चलखेल हुनसक्ने भएकाले नियामक निकायले कारबाही अघि बढाउनुपर्ने उनको बुझाइ छ । 

गत बैशाख ८ गतेबाट विशाल बजारको झन्डै तीन महिनासम्म रोकिएको सेयर कारोबार खुलेको थियो । पाँच आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरण नबुझाएको भन्दै नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)ले दोस्रो बजारमा कम्पनीको सेयर कारोबार रोक्का राखेको थियो ।

गत माघ १२ मा नेप्सेले तीन दिनभित्र सम्पूर्ण वित्तीय विवरण पेस गर्न निर्देशन दिएको थियो । तर कम्पनीले निर्धारित समयमा विवरण बुझाएन । नेप्सेले माघ १९ मा विशालबजारको सेयर कारोबार नै रोक्का राख्यो ।

नेप्सेले आर्थिक वर्ष २०७३/७४ यताको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण मागेको थियो । विशाल बजारले सबै वर्षको वित्तीय विवरण र आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तसम्मको वित्तीय विवरण बुझाएपछि कारोबार फुकुवा गरेको थियो । कारोबार फुकुवा भएको पहिलो दिनमै कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको थियो । त्यसपछि निरन्तर सर्किट ब्रेकर लाग्दै बढिरहेको सेयर मूल्य दुई गुणाभन्दा बढी दरमा बढेर गत बुधबार प्रति कित्ता सात हजार चार सय ६२ रुपैयाँ कायम भएको थियो । 

बैशाख २३ गतेबाट विशाल बजारको सेयर मूल्या ठूलो गिरावट आयो । सेयर मूल्य घट्ने मात्रै होइन, नकारात्मक सर्किट ब्रेकर नै लाग्न थाल्यो । एक सातासम्मको ठूलो गिरावटपछि बुधबार विशाल बजारको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो । विशाल बजार प्रति कित्ता चार सय ८९ रुपैयाँले बढेर पाँच हजार तीन सय ८६ रुपैयाँ कायम भएको छ ।  


Author

थप समाचार
x