अर्थ / बाणिज्य

१२ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि, कुन कम्पनीको कति पुग्यो ?

इकागज |
बैशाख २९, २०७८ बुधबार १६:२ बजे

काठमाडौं : बुधबार सेयर बजारमा १२ कम्पनीको सेयर मूल्य उच्च दरले बढेको छ । यी कम्पनीहरूमा ९ प्रतिशतभन्दा बढी दरमा वृद्धि भएको हो । १२ कम्पनीमध्ये नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, आँखुखोला जलविद्युत् कम्पनी, बोटलर्स लिमिटेड, विशाल बजार कम्पनी, रु रु जलविद्युत् कम्पनी, समता लघुवित्त, युनियन हाइड्रोपावर लिमिटेड, खानीखोला हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी, दिव्यश्‍वरी हाइड्रोपावर लिमिटेड, युनिलिभर नेपाल लिमिटेड र जोशी हाइड्रोपावर हुन् ।

यी १२ कम्पनीमध्ये ३ कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको थियो । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, आँखुखोला जलविद्युत् कम्पनी र बोटलर्स नेपाल लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । नारायणी डेभलपमेन्ट बैंकको सेयर भाउ ५७ रुपैयाँले बढेर ६२७ रुपैयाँ प्रति कित्ता कायम भएको छ । आँखुखोला जलविद्युत् कम्पनीको सेयर मूल्य १७ रुपैयाँले बढेर एक सय ८७ रुपैयाँ छ । बोटलर्स नेपालको सेयर भाउ एक हजार छ रुपैयाँले बढेर ११ हजार ७१ रुपैयाँमा कारोबार भएको थियो ।

विशाल बजार कम्पनीको सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर पाँच हजार तीन सय ८६ रुपैयाँ काम भएको छ । बाँकी कम्पनीको सेयर मूल्य नौ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ ।

१२ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भइरहँदा नेप्से सामान्य अंक (० दशमलव ५६ अंक)ले वृद्धि भएको छ । नेप्से सामान्य बढ्नुमा कारोबारमा आएकामध्ये सात समूहका परिसूचकले बल पुर्‍याएको हो ।

विकास बैंक, हाइड्रोपावर, फाइनान्स, निर्जीवन बीमा, म्यानुफ्याक्चरिङ एन्ड प्रोडक्सन, म्युचुअल फन्ड र इन्भेस्टमेन्ट समूहका परिसूचक बढेका छन् । त्यसबाहेकका समूका परिसूचक कमजोर छ ।

नेप्से सामान्य अंकले बढ्दा कारोबार रकम पाँच अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । ६२ हजार नौ सय ७२ पटकको कारोबारमा एक करोड ४८ लाख ५४ हजार चार सय २२ कित्ता सेयर किनबेच भएको छ ।

यसबीच नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार उच्च छ । यो कम्पनीको ३५ करोड १६ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिए)को २६ करोड ९५ लाख रुपैयाँ सेयर कारोबार भएको छ ।



Author

थप समाचार
x