अर्थ / बाणिज्य

चालु खाता घाटा दुई खर्ब नाघ्यो

इकागज |
बैशाख २९, २०७८ बुधबार १६:१७ बजे

काठमाडौँ : आयात क्रमशः बढ्न थालेपछि चालु खाता घाटा पुनः चुलिन थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको समष्टिगत आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनले चालु आर्थिक वर्षको ९ महिनामा चालु खाता घाटा दुई खर्ब ७ अर्ब रुपैयाँ पुगेको उल्लेख गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा चालु खाता घाटा ६४.५ प्रतिशतले बढेको छ । 

चालु खाता घाटाले यथार्थ समयमा मुलुकमा भित्रिएको र बाहिरिएको विदेशी मुद्राको हिसाब देखाउने हुँदा अर्थतन्त्र कति मजबुत छ भन्ने मापन गर्ने प्रबल सूचक मानिन्छ । चालु खाता घाटाले देशमा भित्रिएको तुलनामा बाहिरिएको रकमको अन्तर देखाउँछ ।  साउनदेखि चैतसम्म नेपाल भित्रिएको भन्दा नेपालबाट बाहिरिएको रकम दुई खर्ब ७ अर्ब रुपैयाँ बढी रहेको छ । 


चालु खाता, पुँजी खाता र वित्तीय खाताले भने समग्र शोधनान्तरको स्थितिलाई प्रतिबिम्बित गर्छ । पुँजीखातामा भने वैदेशिक लगानी, विदेशी ऋण तथा अनुदान, वाणिज्य बैंकहरूले विदेशी मुद्रामा विदेशमा गरेको लगानी तथा नेपालका बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रले विदेशबाट ल्याएको ऋणसमेत समावेश हुन्छ । पुँजी खाताको दायित्व दीर्घकालीन हुनेहुँदा शोधनान्तर स्थिति बचत भएपनि दीर्घकालको दायित्व समेत त्यसमा समावेश भएको हुन्छ । 

समीक्षा अवधिमा आयात गत वर्षको तुलनामा १३.१ प्रतिशतले बढेर ११ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको कुल आयात बराबर यस आर्थिक वर्षको ९ महिनामा नै आयात भैसकेको छ । त्यस्तै, निर्यात २०.२ प्रतिशतले बढेर ९४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । व्यापारघाटा गत वर्षको सोही अवधिको तुलनामा १२.५ प्रतिशतले बढेर १० खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर बचत ४२ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ६१ करोड रुपैयाँले बचतमा रहेको थियो । 

नेपाल राष्ट्र बैंकले मुद्रास्फिति अघिल्लो महिनाको तुलनामा सामान्य बढेर ३.१० प्रतिशत रहेको उल्लेख गरेको छ । चालु आर्थिक वर्षका पहिलो नौ महिनामा औसत मूल्यवृद्धि ३.४६ प्रतिशत मात्र छ । अमेरिकी डलरमा आधारित रेमिट्यान्स गत वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतले वृद्धि भएको छ भने नेपाली रुपैयाँमा रेमिट्यान्स १६.५ प्रतिशतले वृद्धि भइ ७ खर्ब २९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
 


Author

थप समाचार
x