अर्थ / बाणिज्य

गोदावरी सनराईज सम्मेलन केन्द्र

शपथलगत्तै अत्याधुनिक सभाहलको उद्‍घाटन गर्दै प्रधानमन्त्री

आफ्नै पहलमा निर्माण थालेका थिए तीनहजार सिट क्षमताको भवन

इकागज |
बैशाख ३१, २०७८ शुक्रवार १०:२८ बजे

काठमाडौँ : ललितपुरको गोदावरीमा ३ हजार क्षमताको मुख्य हलसहित निर्माण गरिएको अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्रको प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) दिउँसो उद्‍घाटन गर्ने भएका छन् । ४२ औँ प्रधानमन्त्रीको शपथ लिए लगत्तै उनले शुभ कार्यको रुपमा आफू दाेस्रो पटक प्रधामन्त्री भएपछि नै निर्माण थालिएको उक्त भवनको उद्घाटन गरेर सकारात्मक सन्देश दिन लागेका हुन् । 


एउटै हलमा एकै पटक ३ हजार मानिस बसेर सभा तथा सम्मेलन गर्न सक्ने मुलुककै पहिलो अत्याधुनिक भवन भएकाे सहरी विकास मन्त्रालयले जनाएको छ ।सम्मेलन केन्द्रलाई ‘गोदावरी सनराइज’ नाम दिइएको छ । आधुनिक र प्रविधियुक्त यो केन्द्र निर्माणमा कोभिडको प्रभावमा परेपनि तोकिएको समयमा सम्पन्‍न भएको छ । सामान्यतया यस्तो भवन निर्माणमा तीन वर्ष लाग्‍ने भएपनि यो भवन कोभिडको मारका बीच पनि आधा समयमा काम सम्पन्‍न भएको हो । 

आरम्भमा रुख कटान र पुराना घर टहरा सार्न पर्ने कारण केही अलमल र ढिलाइ भएको भवन विभागले जनाए पनि त्यसपछिका दिनमा यसका काम लगातार अघि बढेको हो । सहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहका अनुसार लगातार काम हुँदा सहज रुपमा यो कार्य सम्पन्‍न भएको बताउँदै आज दिउँसो उद्‍घाटन हुने जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री ओलीले सम्मेलन केन्द्र विहान उदघाटन गर्ने तयारी रहेको भए पनि शपथको कारण दिउँसो चार बजेलाई सरेको हो । २०७६ भदौमा भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो सम्मेलन आयोजना गर्न सरकारलाई समस्या परेपछि सभाहल बनाउने निर्णयमा सरकार पुगेको थियो ।

अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी, सभा र सम्मेलन तथा कार्यक्रम गर्न मिल्ने हलको अभाव नहोस भन्दै ०७६ कात्तिकमा मन्त्रिपरिषद् बैठकले विशेष निर्णयले यो सभाहल निर्माणकाे कार्य अघि बढेको हो । सहरी विकास तथा भवन निर्माण विभागले टेन्डर आह्वान गरी निर्माण प्रक्रिया अघि बढाएको र यो महामारीको बीचमा पनि भवन समयमा सम्पन्‍न भएको छ ।  

निर्माण कम्पनीले  ‘दैनिक ३ सयभन्दा बढी कामदार राखेर दुई सिफ्टमा काम गरेकाे आयोजना प्रवन्धक महेश भट्टले इकागजलाई बताए । केसी सामान्तर जेभीले यसको निर्माण कार्य गरेको हो । भट्टका अनुसार  ४३ रोपनी १५ आना क्षेत्रफलमा निर्माण भएको हो । सम्मेलन केन्द्रका लागि सरकारले ८१ करोड खर्चेको  छ । ११ रोपनी ०६ आनामा सम्मेलन केन्द्र, ३ रोपनी ०३ आनामा आन्तरिक सडक, १६ रोपनी २ आनामा बगैंचा तथा हरियाली उद्यान र १३ रोपनी १ आनामा पार्किङस्थल रहेको छ । 

मुख्य हल प्रवेश गर्नुअघि उत्तर र दक्षिण दिशामा साना दुई बहुउद्देश्यीय हल निर्माण भएका छन् ।  २८ मिटर अग्लो उक्त भवनमा दुई तला उचाइ बराबरको हल हुनेछ । यसका साथै उक्त भवनमा विशिष्ट व्यक्तिका विशिष्ट कक्ष, सहायता कक्ष र विभिन्‍न समयमा कार्यक्रमका लागि आदानप्रदान कक्षसमेत बनेका छन् ।

मुख्य हलमा ३ हजार सिट, कार्यक्रम प्रस्तुतिका लागि मञ्‍च, आवश्यक कक्षको समेत व्यवस्था छ । कार्यालय कक्ष, विशिष्ट कक्ष, सहायता कक्ष भएको ब्लक भने ३ तलाको छ । मुख्य हलसँगै निर्माण हुने साना तथा अन्य कक्षको ब्लक समेटी एउटै हलको निर्माण भएको छ ।


Author

थप समाचार
x