अर्थ / बाणिज्य

प्रदेशहरूमध्ये बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा उच्च

इकागज |
बैशाख ३१, २०७८ शुक्रबार १७:२६ बजे

काठमाडौँ : केन्द्रीय तथ्यांक विभागले सात प्रदेशहरू मध्ये आर्थिक वर्ष २०७७–७८ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा उच्च हुने अनुमान सार्वजनिक गरेको छ । बागमती प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय आर्थिक वृद्धिदर अनुमान ४.०८ प्रतिशत भन्दा केही माथि ४.७ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्षमा बागमतीको आर्थिक वृद्धिदर ३.६ प्रतिशतले ऋणात्मक भएको थियो । 

प्रदेशहरूमध्ये बागमतीको अर्थतन्त्र सबैभन्दा ठूलो १६ खर्ब ८ अर्ब रुपैयाँको हुने अनुमान छ । बागमतीपछि सबैभन्दा ठूलो अर्थतन्त्र प्रदेश १ को छ । प्रदेश १ को अर्थतन्त्र चालु आर्थिक वर्षमा ६ खर्ब ६३ अर्ब रुपैयाँ पुग्ने अनुमान छ । प्रदेश १ को आर्थिक वृद्धिदर गत आर्थिक वर्षको ऋणात्मक १.२ प्रतिशतबाट चालु आर्थिक वर्षमा ३.६ प्रतिशत हुने अनुमान छ । कुल गार्हस्थ उत्पादनमा बागमती प्रदेशको अर्थतन्त्रको हिस्सा ३७.७ प्रतिशत छ । 


त्यस्तै गत आर्थिक वर्षमा ऋणात्मक नभएका कर्णाली र सुदुरपश्चिम प्रदेशको अर्थतन्त्र यस आर्थिक वर्षमा क्रमशः ३.६ र ३.४ प्रतिशतले बढ्ने अनुमान छ । कर्णाली र सुदुरपश्चिमको अर्थतन्त्र चालु आर्थिक वर्ष २०७७–७८ मा १ खर्ब ७२ अर्ब रुपैयाँ र २ खर्ब ९४ अर्ब रुपैयाँ पुग्ने अनुमान छ । 

त्यस्तै, प्रदेश २ को आर्थिक वृद्धिदर ३.५ प्रतिशत कायम भइ अर्थतन्त्रको आकार ५ खर्ब ६२ अर्ब रुपैयाँ पुग्ने केन्द्रीय तथ्यांक विभागको अनुमान छ । गण्डकी र लुम्बिनी प्रदेशको अर्थतन्त्र यस वर्ष ३.६ र ३.९ प्रतिशतले विस्तार भइ क्रमशः ३ खर्ब ७२ अर्ब र ५ खर्ब ९६ अर्ब रुपैयाँ पुग्ने अनुमान छ । 

 


 


Author

थप समाचार
x