अर्थ / बाणिज्य

बजेट भाषण

यस्ता छन् बजेटका प्राथमिकता र उद्देश्यहरू

इकागज |
जेठ १५, २०८० सोमबार १७:६ बजे

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि, पर्यटन र सम्पन्न हुने विकास आयोजनाहरू मात्रै प्राथमिकता दिँदै अर्थतन्त्रको फराकिलो आर्थिक वृद्धि गर्ने बताएका छन् । सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै मन्त्री महतले यस्तो बताएका हुन् ।

उनले आगामी आर्थिक वर्षको बजेटमा कृषि, पर्यटन र सम्पन्न हुने आयोजना सरकारको उच्च प्राथमिकतामा परेको बताए । उनले कृषिको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास र सम्पन्न हुने खालका विकास आयोजनामा मात्रै बजेट विनियोजन गरिएको बताए । उनले विगतमा टुक्रे आयोजना, बहुवर्षीय आयोजना र सम्भाव्यता भएका आयोजनाहरूमा ठूलो बजेट राख्ने जानकारी दिए ।


अर्थमन्त्री महतले गुणस्तरीय सामाजिक विकास,सुरक्षा र न्याय प्रणालीको प्रत्याभूत गर्ने, लगानीमैत्री वातावरण निर्माण गरी निजी क्षेत्रको मनोबल उच्च पार्ने बताए । उनले आय तथा रोजगारीका अवसर सिर्जना गरी गरिबी न्यूनीकरण गर्ने  र समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने, संघीयताको सबलीकरण र सुशासन कायम गर्ने बजेट प्रणालीमा सुधार गरी सार्वजनिक खर्चको प्रभावकारिता अभिवृद्धि गर्ने बताए ।

 यस्तै उनले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सरकारी, निजी र सहकारी क्षेत्रको लगानी विस्तार गरी उत्पादन, उत्पादकत्व र रोजगारीका अवसर बढाउने, आर्थिक तथा सामाजिक पूर्वाधार निर्माण गरी उच्च आर्थिक वृद्धिको आधार तयार गर्नेतर्फ जोड दिइएको बताए । उनले सार्वजनिक स्रोतको समुचित तथा उपलब्धिमूलक परिचालन गर्नुका साथै उपलब्ध अवसर तथा  लाभको समन्यायिक वितरण गरी धनी र गरिब बीचको खाडल कम गर्नुपर्ने आवश्यकता महसुस गरी बजेटका उद्देश्य तथा प्राथमिकता तय गरेको बताए ।

अर्थतन्त्रलाई गतिशील बनाई फराकिलो, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने, गुणस्तरीय सामाजिक विकास, सुरक्षा र न्याय प्रत्याभूत गर्ने उनकाे भनाइ छ । उनले लगानीमैत्री वातावरण निर्माण गरी निजी क्षेत्रको मनोबल उच्च पार्ने र आय तथा रोजगारीका अवसर सिर्जना गरी गरिबी न्यूनीकरण गर्ने, समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने, संघीयताको सबलीकरण र सुशासन कायम गर्ने, बजेट प्रणालीमा सुधार गरी सार्वजनिक खर्चको प्रभावकारिता अभिवृद्धि गर्ने बजेटका उद्देश्य रहेको बताए ।


Author

थप समाचार
x