अर्थ / बाणिज्य

सिन्धुपाल्चोकको​ मेलम्चीमा निर्माण हुने भयाे ‘बेलिब्रिज’

इकागज |
जेठ २४, २०८० बुधवार १३:३१ बजे

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तीन पालिका जोड्ने मेलम्ची नदीमा ‘बेलिब्रिज’ निर्माण हुने भएपछि स्थानीयवासी हर्षित भएका छन् । निर्वाचनका समयमा जेठ मसान्तभित्र बेलिब्रिज निर्माण गर्ने प्रतिबद्धता गरे पनि केही समय ढिलो गरेर बेलिब्रिज जडान हुन लागेको बागमती प्रदेश सभासदस्य कृष्णकुमार तामाङ (समीर)ले जानकारी दिए । उनले भने, “अब बेलिब्रिज निर्माण प्रक्रिया तत्काल अगाडि बढ्छ ।”    
    
उनले वर्षायाममा यहाँका नागरिकहरुलाई आवतजावत गर्न निकै समस्या हुने भएकाले जतिसक्दो चाँडो सम्पन्न गर्नका लागि आग्रह गरे । महासेनानी ईश्वर बुढाथोकीले बेलिब्रिज जडान कार्य केही चुनौती रहे पनि जतिसक्दो चाँडो कार्य सम्पन्न गर्न लागिपर्ने जानकारी दिए ।    
    
 मेलम्ची पारिको वडा नं ९ र १० तथा पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका जोड्ने सो पुल निर्माण भएपछि त्यहाँका नागरिकले प्रत्यक्ष लाभ लिनेछन् भने सदरमुकाम चौतारा जाने छोटो दूरीको ‘रुट’का रुपमा समेत यस सडक प्रयोग हुँदै आएको छ ।    
    
 स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र बागमती प्रदेशसभा सदस्य तामाङको पहल, निरन्तर प्रयासपछि मेलम्ची खोलामा बेलिब्रिज निर्माण गर्नका लागि अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रक्षा मन्त्रालयलाई जिम्मेवारी दिएको थियो । नेपाली सेनाको इञ्जिनियरिङ विभाग, १४ नं वाहिनी अड्डाबाट महासेनानी बुढाथोकीको नेतृत्वमा आएको टोलीले अध्ययन सर्वेक्षण गरेको हो । विसं २०७८ असार १ गते आएको बाढीले पक्की पुल बगाउँदा यहाँका नागरिकहरुले बर्खाको समयमा सास्ती खेप्दै आएका छन् । हिउँदको समयमा ह्युमपाइप राखेर सडक सञ्चालन गर्ने गरिएको भए पनि बर्खा लागेसँगै समस्या हुने गरेको छ ।  



Author

थप समाचार
x