अर्थ / बाणिज्य

बजेटअघि सेयर लगानीकर्ता 'पर्ख र हेर'मा

२० कम्पनीको सेयर भाउमा उछाल, कारोबार रकम १४ अर्ब नाघ्यो

इकागज |
जेठ १३, २०७८ बिहीबार १६:८ बजे

काठमाडौँ : आगामी आर्थिक वर्षको बजेट आउनुअघिको अन्तिम कारोबारको दिन (बिहीबार) सेयर बजार लगभग स्थिर देखिएको छ । सोमबार रेकर्ड कायम गरेको सेयर बजारमा मंगलबार ६.५ अंकको सामान्य गिरावट देखिएको थियो । बिहीबार बजार १.२ अंकले घटेको छ । 

कोभिड-१९ ले मुलुकको लगानीको क्षेत्रमा पारेको असरलाई सम्बोधन गर्न सरकारले प्रस्तुत गर्ने बजेट कार्यक्रमको ठूलो महत्त्व हुन्छ । विकासका कार्यक्रम र निजी क्षेत्रको लगानीको सहजिकरणका लागि सरकारले लिने नीतिले सेयर बजारमा ठूलो महत्त्व राख्ने भएकाले बजेटको अघिल्लो दिन सेयर बजार सामान्यतया: स्थिर रहने गर्छ । 


गत जेठ १५ मा सरकारले बजेट सार्वजनिक गरिरहँदा देशव्यापी लकडाउनसँगै धितोपत्र बजार समेत बन्द थियो । जसले बजेटप्रति सेयर बजारको प्रतिक्रिया स्पष्ट देखिएको थिएन । अघिल्लो आर्थिक वर्षको बजेट पेश हुने अघिल्लो दिन भने बजार सामान्य २.५३ अंकले घटेको थियो । सामान्य अंकको घटबढले लगानीकर्ताहरू 'पर्ख र हेर'को अवस्था रहेको बुझ्न सकिन्छ । 

आर्थिक वर्ष २०७५/७६ को बजेटको अघिल्लो दिन भने सेयर बजारमा ठूलो अंकको वृद्धि देखिएको थियो । २०७५ जेठ १४ मा नेप्से परिसूचक करिब ३६ अंकले बढेको थियो । त्यसबखत बजेटबाट आमअपेक्षा ठूलो थियो । वित्तीय संघीयता कार्यान्वयनका लागि पहिलो बजेट थियो नै । तत्कालीन समयमा दुई तिहाई बहुमतको शक्तिशाली सरकारका विज्ञ अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याउने भएकाले सबैले बजेटबाट ठूलो अपेक्षा राखेका थिए । तर, खतिवडाले अपेक्षाअनुसार काम गर्नसकेनन् । सेयर बजारप्रति उनका विवादास्पद अभिव्यक्तिका कारण सेयर बजार उनीप्रति सधै नकारात्मक रह्यो । 

सामान्यतया: बजेटको अघिल्लो दिन सेयर बजार सामान्य अंकले घट्ने गर्छ । लगानीको वातावरण निर्माणका लागि सरकारले लिने नीतिको पर्खाइमा रहेका लगानीकर्ताले उचित अवसर हेरेर मात्रै सेयर बजारमा लगानी गर्ने भएकाले सरकारले ल्याउने बजेटको खास महत्त्व यसमा हुन्छ । 

हाल कोभिड-१९ ले अर्थतन्त्र थलिएको र निषेधाज्ञा कायम रहेको अवस्थामा लगानीका अन्य क्षेत्र प्रभावित भएकाले सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको छ । सरकारले बजेटमार्फत कोभिड-१९ ले थलिएको अर्थतन्त्रलाई त्राण दिनेगरी बजेट ल्याउँछ की ल्याउँदैन भन्ने अन्योलतामा सेयर बजार स्थिर देखिएको हो । 

खासगरी लगानीका विभिन्न क्षेत्र मात्र नभई बजेटले सेयर बजारका आधारभूत पक्षलाई समेत सम्बोधन गर्नसक्छ । ब्रोकरको आम्दानीमा लाग्ने कर, सेयर बजारमा लाग्ने करलगायतका विषयहरू बजेटले फेरबदल गर्ने सम्भावना उच्च रहने भएकाले पनि सेयर बजारमा यसको प्रभाव देखिनेगर्छ । 

कारोबारमा आएका सात समूहका परिसूचकबाहेक सबै समूहका परिसूचक कमजोर छन् । विकास बैंक, जलविद्युत् र फाइनान्स समूहको परिसूचकमा उच्च दरमा वृद्धि भएको छ । साथै व्यापार समूहमा पनि उच्च वृद्धि देखिएको छ । 

खानीखोला जलविद्युत, नेपाल हाइड्रो डेभलपर र युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएर सर्किट ब्रेकर नै लागेको छ । १७ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढी दरमा वृद्धि भएको छ ।  यसरी बढ्नेमा अधिकांश जलविद्युत् कम्पनीहरू छन् । 

नेप्से परिसूचकमा सामान्य गिरावट देखिए पनि कारोबारमा वृद्धि भएको छ । झन्डै १४ अर्ब ७६ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ ।


Author

थप समाचार
x