अर्थ / बाणिज्य

जडिबुटीको सुविधा सम्पन्न बसपार्क कानुनविपरीत छैन : पूर्व अरनिको यातयात

इकागज |
असोज ८, २०८० सोमबार १८:५७ बजे

काठमाडौँँ- पूर्व अरनिको यातायात प्रा.लि.ले १० करोडको लगानीमा काठमाडौँ महानगरपालिका–३२ वडाको जडिबुटीमा बनाएको सुविधा सम्पन्न बसपार्क कानुनविपरीत नभएको बताएको छ ।

सोमबार प्रा.लि.ले पत्रकार सम्मेलन गर्दै काठमाडौँं महानगरपालिकाले बसपार्कमा बनेका हरेक संरचनाहरू काठमाडौँं महानगरको मापदण्ड र नियम अनुसार बनाएकाले डोजर लगाउन नपाउने दाबी गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै पूर्व अरनिको यातायात प्रा.लि.का अध्यक्ष केदार क्षेत्रीले लामो समयदेखि बसपार्क नहुँदा राजधानी पूर्वका काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा लगायतका जिल्लामा सञ्चालन हुने सवारी साधन र त्यसमा यात्रा गर्ने यात्रीहरूकाे समस्या समाधानका लागि बनाएको बसपार्क महानगरले विकल्पबिना भत्काउन नपाउने बताए ।


उनले काठमाडौँ महानगर तथा संघीय सरकारले पूर्वका काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा लगायतका जिल्लामा सञ्चालन हुने सवारी साधनका लागि विकल्प दिए आफैँ भत्काउने बताए । उनले यसअघि पुरानो बसपार्कमा भएको पार्कमा टावर निर्माण सम्पन्न हुन लागेको भन्दै सरकारले त्यहाँ व्यवस्था गर्नुपर्ने बताए ।

अध्यक्ष क्षेत्रीका अनुसार राजधानी पूर्व सञ्चालन हुने बसहरू यत्रतत्र पार्किङ गर्नुपर्ने अवस्था रहेको र नयाँ बसपार्कमा पुग्नुपर्ने निर्णय यात्रुमैत्री नभएकाले आफ्नै लगानीमा पाँच वर्षका लागि बसपार्क निर्माण गरिएको हाे । गाेंगबु जाने निर्णय कुनै पनि हिसाबले व्यवहारिक नभएको उनकाे भनाइ छ । उनले महानगरले दुःख दिने उद्देश्यले गोंगबु जाने निर्णय गरेको बताए ।

बसपार्कमा भएका संरचनाहरू काठमाडौँं महानगरपालिकाको भवन आचार संहिता अनुसार र भवन निर्माणको मापदण्ड अनुसार अनुमति लिएर बनाएको तर अहिले महानगर तथा यातायात व्यवस्था विभागले अनुमति दिन नचाहेको बताए । उनले बसपार्कमा सार्वजनिक शौचालय समेत नभएको ठाउँमा यात्रुहरूलाई सुविधा दिनेगरी काम गरिएको बताए ।

उनले बसपार्क कुनै व्यावसायिक नभएर व्यवसायीहरूले यात्रुहरूको सहजताका लागि पाँच वर्षका लागि दिएको समाधान दिन खोजिएको जिकिर गरे । उनले सरकारले ४ सय बसको रुटपरमिट पुरानो बस पार्कसम्म भए पनि सरकार र महानगरले पुरानो बसपार्कसम्म जान नदिएको बताए । सरकारलाई नेपाली यातायात व्यवसायीहरू र मजदुरहरूले काम गरेर खान नपाइने हो भन्दै प्रश्न समेत उनले गरे ।

काठमाडौँ महानगरपालिकासँग अनुमति लिएर बसपार्क र त्यहाँ अन्य भौतिक निर्माणका लागि अनुमतिका लागि पटकपटक अनुरोध गरे पनि महानगरले वास्ता नगरेको अध्यक्ष क्षेत्रीको आरोप छ । काठमाडौँं महानगरपालिकाले असार १ गतेदेखि काठमाडौँंबाट छुट्ने लामो तथा छोटो दूरीका सबै बसहरू अनिवार्य रूपमा गोंगबु बसपार्कबाटै छुट्नुपर्ने नियम लागू गरे पनि राजधानी पूर्वका यात्रुहरूका लागि गोङ्गबु बसपार्क उपयुक्त नहुने भन्दै पूर्व अरनिकोले आफ्नै लगानीमा बसपार्क निर्माण गरेको हो । 

 


Author

थप समाचार
x