अर्थ / बाणिज्य

‘बजेट किन कार्यान्वयन भएन समीक्षा नगरी ठूलो बजेट मात्रले आशा जगाउँदैन’

इकागज |
जेठ १८, २०७८ मंगलबार ११:२७ बजे

काठमाडौँ : उद्योगपति एवं प्रतितिधि सभाका सदस्य विनोद चौधरीले बजेट कार्यान्वयन पक्षमा संरचनागत सुधारमा मौनता, व्यावसायिक वातावरण र प्रतिस्पर्धी उत्पादन लागतको अभाव तथा रूपान्तरणकारी सोचको शून्यताका कारण अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको २०७८/७९ को बजेटले आशा जगाउन नसकेको बताएका छन् । 

बजेटमाथि टिप्पणी गर्दै नयाँ पत्रिका दैनिकमा प्रकाशित लेखमा उद्योगपति एवं सांसद चौधरीले प्रतिनिधि सभा विघटन नभएको भए संसदमै यी सवालहरू उठाउन चाहेको तर प्रतिनिधि सभा विघटन भएकाले सञ्चारमाध्यममार्फत् आफ्नो जिज्ञासा अर्थमन्त्री र जनसमक्ष राखेको बताएका छन् । 


चौधरीले बजेटले कमजोर पुँजीगत खर्च, कार्यदक्षताको अभाव/ह्रास, समन्वय अभाव, प्रक्रियामुखी व्यवस्था र पारदर्शिताको अभावका कारण बजेट कार्यान्वयन हुन नसकेकाले त्यसलाई अन्देखा गरेर लक्ष्य प्राप्ति गर्न नसकिने उल्लेख गरेका छन् । चौधरीले १५ रुपैयाँको विकासको काम गर्न ८५ रुपैयाँ खर्च गरेर त्यसले कस्तो प्रतिफल प्राप्त होला र भनेर साधारण/प्रशासनिक खर्च बढ्ने र विकास खर्च घट्दै जानु दुःखद् भएको चर्चा गरेका छन् । 

आर्थिक वर्ष २०७८/७९ को बजेटले आर्थिक पुनरुत्थानलाई बेवास्ता गरेको, व्यापार असन्तुलन बढ्दै गएको स्थितिमा त्यसलाई सम्बोधन गर्ने रणनीति अघि सार्न नसकेको, औद्योगिकरणका लागि सार्थक हस्तक्षेपको अभाव रहेको चर्चा गरेका छन् । 

उनले दोस्रो चरणको आर्थिक सुधार र प्रतिस्पर्धी लगानीमैत्री वातावरणबारे बजेट मौन रहेको, मानवपुँजी विकास सम्बन्धी सोचको अभाव रहेको साथै युवा स्वरोजगार र रोजगारी सिर्जना दृष्टिकोण शून्य रहेको र प्रधानमन्त्री रोजगार कार्यक्रमको १२ अर्ब रुपैयाँ बजेटले २ लाख रोजगारी सिर्जना गर्ने बताए पनि त्यसलाई उत्पादन र पूर्वाधार विकासमा उपलब्धि (आउटपुट) का सम्बन्धमा ध्यान नदिएको आफ्नो लेखमा उल्लेख गरेका छन् । 

उनले रुपान्तरणकारी सोचको सर्वथा अभावका कारण बजेटले एउटा निरन्तरता पछ्याएकाले उपलब्धि हासिल हुनेमा आशंका व्यक्त गर्दै बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थमन्त्रीलाई शुभकामना दिएका छन् । 
 


Author

थप समाचार
x