अर्थ / बाणिज्य

चौतर्फी विरोधपछि अर्थको स्पष्टीकरण : चुरे दोहन नगरी ढुंगा, गिट्टी, बालुवा निकासी गर्छौं

इकागज |
जेठ १९, २०७८ बुधवार १६:२३ बजे

काठमाडौँ : सरकारले अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/७९ को बजेटमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने घोषणाको चौतर्फी विरोध भएपछि  अर्थ मन्त्रालयले स्पष्टीकरण दिएको छ । अर्थले चुरे संरक्षण सरकारको मुल मर्म भएको बताउँदै वातावरणीय प्रभाव मूल्यांकन गरेर मात्रै खानीजन्य वस्तुको उत्खनन् गर्ने बताएको छ । 

जेठ १५ मा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले बताएका थिए, 'वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ । निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी बिन्दुसम्म रोप-वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुल छुट दिने व्यवस्था मिलाएको छु ।' 


अर्थ मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, 'सरकार चुरे क्षेत्रको संरक्षण र सम्बर्द्धन गर्न प्रतिबद्ध छ । चुरे क्षेत्रको दोहन हुन नदिन र वातावरण संरक्षणमा नकारात्मक प्रभाव पर्न नदिन सचेत छ ।'

वक्तव्यमा खानी तथा भूगर्भ विभागले पहिचान गरेका र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बमोजिम चुरे / भावर / शिवालिक र नदीप्रणाली बाहेकका उपयुक्त क्षेत्रमा खानी उत्खनन् गर्ने नीतिगत दृष्टिकोण प्रस्तुत गरिएको मन्त्रालयले दाबी गरेको छ । चुरे क्षेत्रमा ढुङ्गा, गिट्टी, बालुवा लगायत निर्माण सामग्रीको दोहन हुन नदिने नीतिको मूल मर्म रहेको बताएको छ ।

सम्बन्धित सरकारी निकाय, वातावरणविद, विषय विज्ञ र सरोकारवालाहरुसँग छलफल गरी प्राप्त हुने सल्लाह र सुझावका आधारमा कार्यविधि, निर्देशिका, मापदण्ड एवं कानुनी प्रबन्ध गर्न तथा वातावरण र जीविकामा प्रतिकूल असर नपर्ने व्यवस्था मिलाउन सरकार पूर्ण प्रतिबद्ध रहेको भनिएको छ ।

 


Author

थप समाचार
x