अर्थ / बाणिज्य

ऊर्जा सचिव कार्कीले गराए भारतीय समकक्षीकाे ध्यानाकर्षण

भारतीय ऊर्जा बजारमा नेपालकाे पहिलाे प्रवेश

इकागज |
जेठ २४, २०७८ सोमबार १८:५८ बजे

काठमाडौं : भारतीय प्रतिस्पर्धात्मक ऊर्जा बजारमा नेपाल पहिलोपटक सफल भएपछि नेपालका ऊर्जा सचिवले आफ्ना भारतीय समकक्षीलाई आगामी प्रक्रियाका लागि ध्यानाकर्षण गराएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव देवेन्द्र कार्कीले भारतीय समकक्षी आलोक कुमारलाई पञ्‍जाब स्टेट पावर कर्पाेरेसन लिमिटेड (पीएसपीएसल) ले गराएको प्रतिस्पर्धामा नेपाल सफल भएको स्मरण गराउँदै भारतीय सहयोगका लागि ध्यानाकर्षण गराएका छन् । पीएसपीसीएलले गत अप्रिलमा गराएको प्रतिस्पर्धामा प्राधिकरणकाे बिड सफल भएको थियाे ।


प्राधिकरण आगामी जुलाई, अगष्ट र सेप्टेम्बरसम्मका लागि चौबीसै घण्टा ४० मेगावाट बिजुली बेच्‍न गरेको बिड (प्रतिस्पर्धा) मा सफल भएको थियाे  । प्राधिकरणले आफ्नो बिजुलीको मूल्य प्रतियुनिट औसत भारतीय चार रुपैयाँ (६ रुपैयाँ ४० पैसा) राखेको थियो । गत जेठ १० गते भएको बाह्रौं दक्षिण एसियाली ऊर्जा सचिवस्तरीय बैठक (भिडियो कन्फ्रेन्स) मा नेपालले गरेको सफल बिडलाई सहमति दिन ध्यानाकर्षण गराएका हुन् । अघिल्लो महिना नेपालको बिड सफल भएको जानकारी प्राधिकरणले प्राप्त गरेको थियो । पीएसपीसीएलले आशय पत्र दिन बाँकी छ । आशय पत्र प्राप्त गरेपछि भारत सरकारको स्वीकृति चाहिन्छ ।

भारतले सन् २०१८ मा जारी गरेको सीमापार विद्युत् व्यापारसम्बन्धी निर्देशिकामा छिमेकीहरुसित तीन प्रकारले विद्युत् व्यापार हुने बन्दोबस्त गरेको छ । पहिलो अन्तर सरकारी सम्झौता (आइजीए), विड रुट र तेस्रो प्रत्यक्ष । यसमध्ये नेपालले बिट रुट अर्थात् प्रतिस्पर्धामा भाग लिएको हो । सोही निर्देशिकाले छिमेकी देशको कुनै प्राधिकार बिड रुटमा सफल भएमा भारत सरकारको अनुमति पनि अनिवार्य लिनुपर्ने व्यवस्था छ । 

निर्देशिकाको सोही व्यवस्थाअनुसार भारत सरकारको सहमतिका लागि नेपालका ऊर्जा सचिव कार्कीले आफ्ना समकक्षीको ध्यानाकर्षण गराएका हुन् । 

पञ्जाबको उक्त पावर युटिलिटीले गत अप्रिलमा ६ सय देखि १८ सय मेगावाटसम्मको बिजुली आपूर्ति गर्न प्रतिस्पर्धा गराएको थियो । घटीमा २० मेगावाट बिजुली दिने बिड हुनुपर्ने प्रावधान थियो । प्राधिकरणले माथिल्लो भोटेकोसी (४५ मेगावाट) को बिजुली बर्खायाम (जुलाई देखि सेप्टेम्बरसम्म) मा बेच्‍न प्रस्ताव गरेको हो । 

नेपाल विद्युत् प्राधिकरण र भारतको विद्युत व्यापार एजेन्सी एनभीभीएनबीच १५ जुलाई , २०२० मा विद्युत् खरिद बिक्री सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार प्राधिकरणले भारतलाई बिजुली बेच्‍नुपर्दा एनभीभीएनमार्फत बेच्‍ने र नेपालले आयात गर्दा उसैसँग लिनुपर्छ ।
 
सचिव कार्कीले भारतलाई प्रतिस्पर्धात्मक तवरबाट बिजुली बेच्‍ने नेपालको यो पहिलो प्रयास भएको र यसबाट पहिलो अनुभव हासिल गर्ने बताए । ‘भारतीय निर्देशिकमा उल्लिखित बिडिङ रुटअन्तर्गत यो नेपालको पहिलो अनुभव हुनेछ,’ सचिव कार्कीले सचिव बैठकमा भने । 

प्राधिकरणले यसअघि पनि भारतीय ऊर्जा बजारमा सहभागिता जनाउने प्रयास गरे पनि सफल हुन सकेको थिएन । इण्डियन इनर्जी एक्सचेञ्ज (आइइएक्स) मा आजको मूल्यअनुसार प्रतियुनिट अधिकतम बिजुलीको मूल्य भारु ४.९० (७ रुपैयाँ ८४ पैसा) छ भने न्यूतम मूल्य प्रतियुनिट भारु १.१० (एक रुपैयाँ ७६ पैसा) छ । आइइएक्समा घण्टा घण्टामा मूल्य तलमाथि भइरहन्छ । 

अब आउने वर्षायाममा नेपालमा उत्पादित सबै बिजुली खपत हुन नसकी जगेडा हुने प्राधिकरणको आँकडाले देखाएको छ । यो वर्ष करिब साढे ५ सय मेगावाट बिजुली जगेडा हुन अनुमान छ । यही अनुमानलाई मध्यनजर राख्दै सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा बिजुलीको आन्तरिक खपत बढाउने व्यापक नीतिगत सुधार र कार्यक्रमहरु तर्जुमा गरेको छ । विद्युतीय उपकरणको आयातमा भन्सार कटौती, विद्युतीय परिवहनमा भन्सार सुविधा, अन्तःशुल्कको खारेजी आदि जगेडा बिजुली लक्ष्यित कार्यक्रम हुन् ।
 


Author

थप समाचार
x