असारबाट उडान खोल्न वायुसेवा सञ्चालकको माग
पार्किङमा ७५ प्रतिशत छुट दिनुपर्ने
काठमाडौँ : हवाई उडान सञ्चालकहरूको संगठित संस्था वायुसेवा सञ्चालक संघले असार १ बाट आन्तरिक हवाई उडान खुलाउन माग गरेका छन् ।
संघले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।
पहिलो निषेधाज्ञा अवधिभरका लागि सरकारबाट प्राप्त सुविधा अनुसार यस दोस्रो लहरको निषेधाज्ञा अवधिभर ल्यान्डिङ पार्किङ तथा अन्य शुल्कहरूमा ७५ प्रतिशत छुट मिनाह गर्न आग्रह गरेका छन् । गत मे ११ का दिन ९,४३८ जना संक्रमित देखिएका थिए जुन आजको दिनमा आधा झरिसकेको संघले बताएको छ ।
कोभिड-१९ र लामो बन्दाबन्दीले जीवनशैली मात्र प्रभावित नभई अर्थतन्त्रमा पनि व्यापक असर पर्नुका साथै पर्यटन तथा आन्तरिक हवाई उड्डयन सबैभन्दा बढी प्रभावित क्षेत्र हुन् । पहिलो लहरमा झण्डै १८० दिनभन्दा बढी तथा अहिले दोस्रो लहरमा ४० दिनभन्दा बढी उडानहरु ठप्प रहेका यो क्षेत्रले १० औं लाखलाई रोजगारी प्रदान गरिएको उल्लेख छ ।
एभिएसन क्षेत्रमा आबद्ध सबैको आम्दानी घट्दै गईरहनुका साथ कयौ कर्मचारीहरूको रोजगारी गुम्नुका साथै तिनमा आश्रित परिवारहरूको रोजिरोटी खोसिने भएकोले अब यसलाई सहज र सुरक्षित बनाइनुपर्ने संघले बताएको छ ।
सदस्य वायुसेवा कम्पनीहरूका उडानहरु संक्रमणरहित छन् यसका लागि सदस्य वायुसेवा कम्पनीहरु अन्तर्राष्ट्रिय प्रावधान तथा नागरिक उड्डयन प्राधिकरणको गाइडलाइन्समा आधारित रही स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णपालना गरी उडान सञ्चालन गर्न प्रतिबद्ध रहेको उल्लेख छ । दोस्रो लहर अगाडि हवाई उडानहरूबाट आउजाउ गर्ने सबै यात्रुहरु संक्रमणरहित रहेको संघको भनाइ छ ।
सरकारले हालै अन्तर्राष्ट्रिय उडान तर्फ हवाई इन्धनको मुल्यमा भारी कटौती गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया