अर्थ / बाणिज्य

एकैदिन १९ अर्बको सेयर कारोबार, नेप्से २९८३.१० बिन्दुमा

४१ कम्पनीको सेयर भाउमा उच्च वृद्धि, चार कम्पनीको सेयरमा सर्किट ब्रेकर

इकागज |
जेठ ३०, २०७८ आइतबार १५:५८ बजे

काठमाडौँ : आइतबार सेयर बजारमा कीर्तिमानी कारोबार भएको छ । एकै दिन १९ अर्ब ५५ करोड रुपैयाँ सेयर कारोबार भएको छ । कारोबार मात्र होइन, समग्र सूचीकृत कम्पनीहरूको सेयर मूल्य प्रतिनिधित्व गर्ने नेप्से परिसूचक समेच कीर्तिमानी बिन्दुमा पुगेको छ । 

नेप्से परिसूचक ३८.३२ अंकले बढेर २९८३.१० बिन्दुमा पुगेको हो । विकास बैंक, फाइनान्स र जलविद्युत् समूहका परिसूचकमा उच्च दरमा वृद्धि कायम रहँदा समग्र नेप्से परिसूचक उचालिएको हो । बीमा, लघुवित्त र म्युचुअल फन्डबाहेकका सबै समूहमा हरियाली देखिएको छ । 

कारोबारमा आएका मध्ये चार वित्तीय संस्थाको सेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको छ । श्री इन्भेष्टमेन्ट फाइनान्स, आइसिएफसी फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको हो । 

श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयर मूल्य प्रति कित्ता ५० रुपैयाँले बढेर पाँच सय ५० रुपैयाँ कायम भएको छ । आइसिएफसी फाइनान्सको सेयर मूल्य प्रति कित्ता ६२ रुपैयाँले बढेर ६ सय ८२ रुपैयाँमा रोकिएको छ । कर्णाली विकास बैंकमा ३६ रुपैयाँले वृद्धि भएर सेयर मूल्य तीन सय ९६ रुपैयाँमा कारोबार भएको थियो । सिन्धु विकास बैंकको सेयर मूल्य ३९ रुपैयाँले बढेर चार सय २९ रुपैयाँ कायम भएको थियो । त्यसबाहेक ४१ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढी दरमा वृद्धि भएको छ ।

गत मंगलबार मात्रै नेप्से परिसूचक ५३.४४ अंकले बढेर २९६०.१४ बिन्दुमा पुगेको थियो । तर, त्यसपछिका केही दिन नेप्सेमा सामान्य ओरालो लाग्यो । 
अरुण भ्याली हाइड्रोपावरको अत्यधिक सेयर कारोबार भएको छ । ६६ करोड ९० लाख रुपैयाँ बराबर यो कम्पनीको सेयर किनबेच भएको छ । एक लाख ८२ हजार चार सय ३० पटकको कारोबारमा तीन करोड ७० लाख कित्ता सेयर किनबेच भएको छ । 



Author

थप समाचार
x