अर्थ / बाणिज्य

लकडाउन खोल्नेवित्तिकै रेल सञ्‍चालन गर्ने तयारी थाल्न मन्‍त्री नेम्वाङको निर्देशन

खुवालुङको ढुंगाको संरक्षण गर्ने प्रतिबद्धता

इकागज |
जेठ ३१, २०७८ सोमवार १३:१ बजे

फाइल तस्‍बिर

काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले लकडाउन खोल्नेवित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न रेल विभागलाई निर्देशन दिएका छन् । मन्त्री नेम्वाङले पानी जहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरूसँग छलफल गर्ने क्रममा रेल विभागलाई लकडाउन खुल्न वित्तिकै रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पुरा गर्न निर्देशन दिएका हुन् । 

नीतिगत, व्यवहारिक र प्राविधिक सम्पूर्ण कुराहरूको व्यवस्थापन भइसक्दा पनि रेल सञ्चालनमा ढिलाइ भएकाले छिटोभन्दा छिटो सञ्चालनमा आउनुपर्ने उनले बताए । ‘रेल सञ्चालनका लागि अध्यादेश जारी गरिसकेका छौँ । यति हुँदाहुँदै पनि हामीले रेललाई समयमा सञ्चालन गर्न सकेका छैनौँ,' उनले भने, 'कोभिड महामारीले बाधा पुर्‍याएको छ । नीतिगत, व्यवहारिक, प्राविधिक सबै कुराको व्यवस्थापन भइसकेको छ । यस्तो अवस्थामा लकडाउन खोल्न वित्तिकै हामीले त्यहाँ रेल सञ्चालन गर्नुपर्छ । त्यहाँका जनताहरूलाई रेलको सेवा प्रदान गर्नुपर्छ । १५ गतेभित्र रेल चलाउने तयारीमा लाग्नुस् ।’


मन्त्री नेम्वाङले पानी जहाज सञ्चालनका लागि तयारी गर्न तथा नदीनालाहरूमा सम्भाव्यता अध्ययनको काम अघि बढाउन पानी जहाज कार्यालयलाई पनि निर्देशन दिएका छन् । उनले भने‘नदीनालामा साना बोटहरू हाम्रा नदीनालामा सञ्चालन गर्ने, सम्भाव्यता अध्ययन गर्ने र आगामी आर्थिक वर्षमा बजेटमा समावेश भएका कार्यक्रमलाई कार्यान्वयन गर्नेतर्फ तदरुकताका साथ ध्यान दिन अनुरोध गर्न चाहान्छु ।’

मन्त्री नेम्वाङले पानी जहाज सञ्चालनको निम्ति रुट बनाउँदा खुवालुङको ढुंगाको संरक्षण गर्ने कुरा पनि स्पष्ट पारे । खुवालुङको सम्बन्धमा उठेका जनआवाजलाई ध्यान दिने उनको भनाइ छ । त्यसलाई ध्वस्त पारेर, नष्ट पारेर गर्न नखोजेको कुरा स्पष्ट पार्न पनि उनले निर्देशन दिए । उनले भने ‘खुवालुङको सम्बन्धमा उठेको जनआवाजलाई ध्यान दिएका छौँ । खुवालुङको संरक्षण गर्दै त्यसलाई नचलाइकन गर्दैछौँ । त्यसलाई ध्वस्त पारेर, नष्ट पारेर हामीले गर्न खोजेको होइन् ।’ आगामी दिनको कार्यायोजना स्पष्ट रूपमा बनाएर काममा लाग्न पनि उनले पानी जहाज कार्यालयलाई निर्देशन दिए ।


Author

थप समाचार
x