अर्थ / बाणिज्य

अढाइ करोडको केराउ तस्करी गर्नेविरुद्ध एक करोडको मुद्दा

इकागज |
असार १, २०७८ मंगलबार १६:६ बजे

काठमाडौँ : राजस्व अनुसन्धान विभागले प्रिज्म एग्रो कमोडिटी ट्रेडिङ प्रालिका दुई सञ्‍चालक विज्ञानजंग राणा र वेदान्तजंग राणाविरुद्ध मुद्दा दायर गरेको छ । सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणको केराउ तस्करी गरिरहेको अवस्थामा प्रहरी टोलीले उनीहरूले पक्राउ गरेको थियो । 

विरगञ्‍ज-१६ इनर्वास्थित गोदामबाट २ करोड ६० लाखको मूल्य बराबरको केराउ बरामद भएको थियो । सीमावर्ती क्षेत्रमा केराउ लोड गरिएको ट्रयाक्टर पछ्याउँदै प्रहरी गोदामसम्म पुगेको थियो।  प्रदेश २ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले छापा मार्दा गोदामबाट ३२ सय ५० क्विन्टल हरियो केराउ भण्डारण गरेको फेला पारेको थियो । 

केराउ तस्करी भइरहेको पूर्वसूचनाका आधारमा छापा मारेको थियो । गोदामका प्रबन्धक प्रभात श्रेष्ठ र ना६त ८७१० नम्बरको ट्रयाक्टर पनि प्रहरीले नियन्त्रणमा लिएको छ। केराउ आयात गरि तस्करी गर्ने श्रृंखला बढ्दै गएपछि गत वर्ष सरकारले केराउ आयातमा प्रतिबन्ध नै लगाएको थियो । अघिल्लो वर्ष चैतमा लकडाउन सुरु भएपछि सरकारले केराउ, छोकडा र मरिचमा प्रतिबन्ध लगाएको थियो । 

विज्ञानजंग राणा र वेदान्तजंगविरुद्ध एक करोड दुई लाख रुपैयाँ बिगोदाबीसहित जनकपुर उच्च अदालतको विरगञ्‍ज अस्थायी इजलासमा मुद्दा दायर भएको छ । 



Author

थप समाचार
x