अर्थ / बाणिज्य

खर्चै नगर्ने प्रदेशले आकार बढाएर बजेट ल्याए

सात प्रदेशको कुल बजेट दुई खर्ब ६१ अर्ब, कुन प्रदेशले कति ल्याए?

इकागज |
असार १, २०७८ मंगलबार २१:२२ बजे

काठमाडौँ : मंगलबार बजेट सार्वजनिक गर्ने सात प्रदेशमध्ये चार प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा आकार बढाएर बजेट सार्वजनिक गरेका छन् । चालु आर्थिक वर्ष सकिनै लाग्दा मुस्किलले आधा बजेट खर्च गरेका यी प्रदेशले आकार बढाएर बजेट ल्याएका हुन् । केही प्रदेशले त बजेटको आधा रकम समेत खर्च गर्न सकेका छैनन् ।

सबैभन्दा ठूलो बजेट बागमती प्रदेशको छ । बागमती प्रदेशले चालु आर्थिक वर्षको तुलनामा ६ अर्ब ३० करोड रुपैयाँ बढाएर बजेट सार्वजनिक गरेको हो । आगामी आर्थिक वर्षका लागि बागमतीको बजेट ५७ अर्ब ७२ करोड ९ लाख रुपैयाँ छ ।

चालु आवका लागि बागमतीको ५१ अर्ब ४२ करोड रुपैयाँ बजेट छुट्याइएको थियो । तर, आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा बागमतीले कुल विनियोजनको ३८.६२ प्रतिशत मात्रै खर्च गरेको थियो । यसको अर्थ दुई महिनामा बागमतीले १९ अर्ब ८५ करोड रुपैयाँ खर्च गर्नुपर्ने हुन्थ्यो । खर्च नहुने भएपछि बागमतीले विनियोजनको ७४ प्रतिशत मात्रै खर्च हुने भन्दै बागमती सरकारले आत्मसमर्पण गरिसकेको छ ।

आर्थिक वर्ष २०७८/७९ का लागि सातै प्रदेश सरकारहरूले दुई खर्ब ६१ अर्ब ८६ करोड ६६ लाख रुपैयाँ कूल बजेट ल्याएका छन् । यो चालु आर्थिक वर्षको बजेट आकारभन्दा कम छ । चालु आवको प्रादेशिक कुल बजेट दुई खर्ब ६४ अर्ब रुपैयाँ हो ।

५३ प्रतिशत बजेटमा कर्णालीको आत्मसमर्पण

कर्णालीले ३६ अर्ब ५४ करोड ६६ लाखको बजेट सार्वजनिक गरेको छ । यो चालु आर्थिक वर्षको बजेटभन्दा दुई अर्ब ८० करोड रुपैयाँ बढी छ । उहीँ कर्णाली सरकारले चालु आर्थिक वर्षको बजेटमा ५३ प्रतिशत खर्च नहुने भन्दै आत्मसमर्पण गरिसकेको छ । उसले बजेटको मध्यावधि समीक्षा गर्दै विनियोजन संशोधन गर्दै ४६.४ प्रतिशत मात्रै खर्च हुने स्वीकार गरिसकेको छ ।



चालु आवका लागि कर्णालीले ३३ अर्ब ७४ करोड रुपैयाँ छुट्याइएको थियो । कर्णालीले १७ अर्ब रुपैयाँ बराबर बजेट रकम खर्च नहुने स्वीकारेको थियो । तर, आफ्नो बजेट कार्यान्वयन गर्ने कमजोर क्षमतालाई चुनौती दिँदै कर्णालीले आकार बढाएको छ ।

खर्चै नगर्ने यी प्रदेशले बढाए बजेटको आकार
प्रदेश १ ले ३२ अर्ब ४६ करोड रुपैयाँ बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको बजेट ४० अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रदेश १ ले बैशाख मसान्तसम्म विनियोजनको ४० प्रतिशत मात्रै खर्च गरेको छ । प्रदेशले कुल विनियोजनको ६० प्रतिशत मात्रै खर्च हुने बताइसकेको छ ।

प्रदेश २ ले पनि ३३ अर्ब ७९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आवका लागि प्रदेश २ को बजेट ३३ अर्ब ५६ करोड रुपैयाँ छुट्याइएको थियो । प्रदेश २ ले बजेट संशोधन गरेर ६२.५ प्रतिशत मात्रै खर्च हुने बताइसकेको छ ।



लुम्बिनीले चार अर्ब ६० करोड रुपैयाँ बढाएर बजेट ल्याएको छ । आगामी आवका लागि ४० अर्ब ९५ करोड रुपैयाँ विनियोजित छ । चालु आर्थिक वर्षमा ३६ अर्ब ३५ करोड रुपैयाँ छुट्याइएको थियो । लुम्बिनीले जेठसम्म ५७.३५ प्रतिशतले खर्च गरेको छ ।

यी प्रदेशले घटाएर ल्याए बजेट  

तीन प्रदेश सरकारले आगामी आवको बजेटको आकार घटाएका छन् । प्रदेश १ ले ३२ खर्ब ४६ अर्ब रुपैयाँ बजेट सार्वजनिक गरेको छ । चालु आवका लागि प्रदेश १ ले ४० अर्ब ८९ करोड रुपैयाँ बजेट ल्याएको थियो ।

गण्डकीले ३० अर्ब ३ करोड ९४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चालु आवका लागि गण्डकीले ३४ अर्ब ८४ करोड रुपैयाँ बजेट अनुमान गरेको थियो ।

सुदूरपश्चिम सरकारले समेत बजेटको आकार घटाएर ल्याएको छ । आगामी आवका लागि सुदूरपश्चिमको बजेट ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँ छ । चालु आवका लागि सुदूरपश्चिमले ३३ अर्ब ३८ करोड रुपैयाँ छुट्याएको थियो ।


Author

थप समाचार
x