अर्थ / बाणिज्य

कुनको कति रकम घट्यो ?

निषेधाज्ञासँगै घट्यो डिजिटलमार्फत भुक्तानी हुने कारोबार

इकागज |
असार २, २०७८ बुधबार १३:२२ बजे

फाइल तस्‍बिर

काठमाडौँ : गत वैशाखदेखि देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू भएसँगै डिजिटल भुक्तानी प्रणालीमार्फत हुने कारोबार रकममा कमी आएको छ । निषेधाज्ञाअघिको तुलनामा निषेधाज्ञा जारीसँगै डिजिटल भुक्तानीको कारोबार रकममा कमी आएको हो ।  

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दश महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०७७ अनुसार गत चैतको तुलनामा वैशाखमा मात्र कारोबार रकममा साढे दुई अर्ब रुपैयाँभन्दा बढीले कमी आएको छ ।


निषेधाज्ञा सुरु हुनुअघि डिजिटल कारोबार लगातार बढिरहे पनि निषेधाज्ञा सुरु भएसँगै कारोबारको सङ्ख्या र परिमाण घटेको राष्ट्र बैंकको तथ्याङ्कमा छ । निषेधाज्ञा लागू भएसँगै कनेक्ट आइपिएस, इन्टरनेट बैंकिङ, क्युआर स्क्यान मोबाइल वालेट र इकर्मसमार्फत हुने कारोबार रकममा कमी आएको हो ।

गत चैतमा डिजिटल भुक्तानीमार्फत रु एक खर्ब ६६ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएकामा वैशाखमा उक्त कारोबार रकममा कमी आई एक खर्ब ६४ अर्ब ७५ करोड बराबरको कारोबार भएको छ । गत वर्षको निषेधाज्ञासँगै कारोबार रकममा वृद्धि हुँदै आएकामा निषेधाज्ञा लागू भएसँगै कारोबार रकममा कमी आएको हो ।

कुनको कति रकम घट्यो ?

राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत चैतको तुलनामा कनेक्ट आइपिएसमार्फत हुने कारोबार रकममा ९३ करोड २० लाख रुपैयाँले कमी आएको छ । वैशाखमा कनेक्ट आइपिएसमार्फत एक खर्ब ४१ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत चैतमा एक खर्ब ४१ अर्ब ८० करोढ २० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो भने फागुनमा एक खर्ब १० अर्ब ५७ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

चैतमा २० लाख ३८ हजार ४६५ पटक कनेक्ट आइपिएसको प्रयोग भएकामा वैशाखमा १८ लाख ४३ हजार ५५१ पटक मात्र कारोबार भएको छ । यस्तै गत चैतको तुलनामा इन्टरनेट बैंकिङमार्फत हुने कारोबार रकममा समेत कमी आएको छ । वैशाखमा दश अर्ब ८० करोड बराबरको कारोबार भएकामा गत चैतमा रु दश अर्ब २१ करोड पाँच लाख बराबरको कारोबार भएको थियो ।

गत चैतमा वालेटमार्फत ११ अर्ब २१ लाख बराबरको कारोबार भएकामा वैशाखमा रु १० अर्ब १० लाख बराबरको कारोबार भएको छ । क्युआरमा आधारित भुक्तानीमार्फत गत चैतमा रु दुई अर्ब ७२ करोड २२ लाख बराबरको कारोबार भएकामा वैशाखमा दुई अर्ब ५२ करोड ९० लाख कारोबार भएको छ ।

यस्तै गत चैतमा अनलाइन (इ–कमर्स) का माध्यमबाट रु दश अर्ब ५८ करोड बराबरको कारोबार भएकामा वैशाखमा कारोबार रकममा कमी आई रु ७६ करोड ८० लाख बराबरको कारोबार भएको छ । अन्य डिजिटल माध्यमबाट गत चैतको तुलनामा वैशाखमा कारोबार रकममा कमी आए तापनि मोबाइल बैङ्किङमार्फत हुने कारोबार रकममा केही वृद्धि भएको छ ।

गत चैतमा मोबाइल बैङ्किङमार्फत रु ४८ अर्ब ६५ करोड २० लाख बराबरको कारोबार भएकामा वैशाखमा रु ४८ अर्ब ८८ करोड ७० लाख बराबरको कारोबार भएको छ । गत चैतको तुलनामा वैशाखमा रु २३ करोड ५० लाख बराबरले वृद्धि भएको छ । रासस


Author

थप समाचार
x