अर्थ / बाणिज्य

सेयर बजारमा तीव्र उतारचढाव

इकागज |
असार ३, २०७८ बिहिवार १६:१० बजे

काठमाडौँ : अघिल्ला साताहरूको तुलनामा यो साता सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । निरन्तर उचाइ कायम गरिरहेको नेप्से यो साता अधिकांश कारोबार घटेको छ । सामान्य समयमा भन्दा यो साताको नेप्से कारोबारमा आएको उतारचढावको कारण फरक छ ।

धितोपत्र बोर्डले मूल्यमा चलखेल भएको आशंकामा रहेका ५१ कम्पनीहरूको सूची सार्वजनिक गरेपछि लगातार उतारचढाव आइरहेको छ । दैनिक रूपमा नेप्से परिसूचक घट्दै गएपछि हरेक दिनको कारोबार अवधिमा नेप्से परिसूचकमा तीव्र उतार चढाव देखिएको छ । 

साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार तीव्र उतारचढावकाबीच नेप्से परिसूचक एक दशमलव २९ बिन्दुको सामान्य अंकले घटेको छ । कारोबार सुरु भएको आधा घन्टामा ३८ अंकले घटेको थियो । त्यसपछि आधा घन्टा फेरि बढेर ओरालो लाग्यो । साढे एक बजेसम्म नेप्से २९८९ बिन्दुमा पुगिसकेको थियो ।


सामान्य घटबढ सहित नेप्से २९६८.४३ बिन्दुमा पुगेर रोकियो । होटल तथा पर्यटन समूह, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा र अन्य समूहबाहेकका परिसूचक कमजोर देखिए । 

कारोबार रकममा भने ठूलो गिरावट आएको छ । १० अर्ब ९० करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । एक लाख २४ हजार पाँच सय ६१ पटकको कारोबारमा दुई करोड कित्ता बराबर सेयर किनबेच भएको छ ।     


Author

थप समाचार
x