अर्थ / बाणिज्य

बाढीपीडितलाई इपानको १० लाख राहत

क्षतिग्रस्त प्रवेश मार्ग र प्रसारण लाइन तत्काल पुनःनिर्माण माग

इकागज |
असार ६, २०७८ आइतबार १३:५८ बजे

काठमाडौँ : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) ले बाढी पहिरो प्रकोपबाट घरबारविहीन भएकाहरुलाई १० लाख रुपैयाँको राहत वितरण गर्ने भएको छ । 
इपानले प्राकृतिक प्रकोपमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि र घाइतहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ताहरुको यथाशीघ्र खोजी गर्न माग गरेको हो ।

इपानले विज्ञप्ति जारी गरी देशका विभिन्न भूभागमा आएको बाढी पहिरोका कारण  नदी वेसिनहरुमा रहेका धेरै निर्माणाधीन तथा निर्माण सम्पन्न भईसेकेका जलविद्युत आयोजनाहरु तथा प्रसारण लाइनहरुमा ठूलो क्षति हुन गएकोमा गहिरो दुःख व्यक्त गरेको छ । यसरी क्षति पुगेका आयोजनाहरुको सहयोगको लागि इप्पान सदैव तत्पर रहेको पनि जनाएको छ ।


इपानले आयोजना स्थलसम्म पुग्ने पहुँच मार्गमा क्षति भएका स्थानको तत्काल पुनःनिर्माण गर्नुपर्ने, आयोजनास्थल तथा मानवीय बस्तीसम्म निर्माण तथा वितरण गरिएका र हाल बाढीका कारण क्षति पुगेका प्रसारण लाईनहरु तत्काल पुनः सञ्चालन गर्न पनि ध्यानाकर्षण गराएको छ । आयोगका अध्यक्ष कृष्णप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा विद्युत प्राधिकरणले निर्माण गरेका सवस्टेशनहरुको सुरक्षार्थ तत्काल उचित कदम चाल्नुपर्ने माग गर्दै गृह, ऊर्जा, जलस्रोत तथा सिंचाई, अर्थ मन्त्रालय तथा अन्य सरोकारवाला निकायहरुको उच्चस्तरीय संयन्त्र बनाई समस्याहरु तत्काल सम्बोधन गर्न आग्रह गरेको छ । 

यसैगरी बीमाको भुक्तानी सहजीकरण गर्नुपर्ने तथा बीमा भक्तानी छिटो र सहज बनाउन बीमा समिति तथा अर्थ मन्त्रालयले पहल कदमी गर्न पनि इपानले अनुरोध गरेको छ ।  निर्माण सम्पन्न हुने चरणमा रहेका आयोजनाहरु कम्तीमा एक वर्ष ढिला हुन जाने देखिएकाले आयोजनाहरुले लिएको ऋण रकमको नेपाल राष्ट्र बैंकले एक वर्षको लागि पुनर्कजाको  व्यवस्था गर्न आव्हान गरेको छ । विभिन्न नदी वेसिन तथा कोरिडोरमा रहेका विद्युत् गृह तथा मुहान संरचनाको सुरक्षाका लागि नदी नियन्त्रणसम्बन्धी योजना बनाउन सरकारलाई सुझाव दिएको छ । 


Author

थप समाचार
x