अर्थ / बाणिज्य

बिजुली खपतको यो दयनीय स्थिति

इकागज |
असार ६, २०७८ आइतबार १७:१२ बजे

काठमाडौँ : बिजुली खपतले आर्थिक विकास र समृद्धिको मापन गर्छ । देशको संघीय राजधानी भएको बागमती प्रदेशलाई अन्य प्रदेशको तुलनामा ‘समृद्ध’ नै मानिन्छ । तर बिजुली खपतको आँकडाले यो प्रदेशको आर्थिक अवस्था छर्लंग तुल्याएको छ । 

विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गतको बागमती प्रादेशिक कार्यालयको तथ्यांक अनुसार यो प्रदेशमा उसका सात लाख ८६ हजार सात सय १९ जना ग्राहक छन् । तीमध्ये तीन लाख चार हजार दुई सय ८८ जना ग्राहकको विद्युत् खपत मासिक अधिकतम २० युनिट मात्र रहेको छ । 


गत असारको तथ्यांकअनुसार देशको प्रतिव्यक्ति विद्युत् खपत २६० युनिट थियो । यो प्रतिव्यक्ति खपतलाई अबको तीन वर्षमा चार सय युनिट पुर्‍याइने भनिएको छ । तर बागमती प्रदेशको विद्यु्त खपतको आकडालाई केलाउने हो भने प्रतिव्यक्ति खपत बढाउन सरकारले भनेजस्तो सरल देखिँदैन ।

बागमती प्रदेशअन्तर्गत प्राधिकरणको २० वटा वितरण केन्द्र छन् । यी वितरण केन्द्रमध्ये २० युनिटभन्दा कम खपत गर्ने ग्राहक धादिङमा छन् । प्राधिकरणका अनुसार धादिङमा कूल ग्राहक संख्या ५६ हजार सात सय ६ जना छन् । यसमा पनि २० युनिटभन्दा कम खपत गर्ने ग्राहकको संख्या ४० हजार ६ सय ९६ जना छन् ।

धादिङमा प्राधिकरणको कूल ग्राहकमध्ये ५४ हजार पाँच सय ९५ जना गार्हस्थ्य कोटीका छन् । धादिङमा नौ सय आठ औद्योगिक ग्राहक र तीन सय ३२ वटा व्यापारिक ग्राहक भए पनि विद्युत् खपत कम देखिन्छ ।

धादिङको कूल ग्राहकमा गार्हस्थ्यतर्फ ९६.२८ प्रतिशत छन् । गार्हस्थ्यको आम्दानी भने गत वैशाखमा एक करोड ११ लाख २२ हजार रुपैयाँ भएको थियो । अर्काेतर्फ कूल ग्राहकको जम्मा १.६ प्रतिशत औद्योगिक ग्राहक रहेको धादिङमा यो वर्गबाट प्राधिकरणलाई हुने आम्दानी भने सबैभन्दा धेरै देखिन्छ । गत वैशाखमा धादिङको औद्योगिक ग्राहकबाट चार करोड ६९ हजार रुपैयाँ प्राधिकरणलाई आम्दानी भएको थियो ।

अर्थात् ९६.२८ प्रतिशत ग्राहकबाट जम्मा मासिक आम्दानी एक करोड ११ लाख, १.६ प्रतिशत ग्राहकको आम्दानी सबैभन्दा बढी चार करोड रुपैयाँ । यो तथ्यांकले के देखाउँछ भने मुलुकमा औद्योगिक क्षेत्र नफस्टाएसम्म बिजुली खपत हुँदैन ।

कम बिजुली खपतका हिसाबले धादिङपछि नुवाकोट देखिएको छ । बिजुली खपत नै कम भएपछि त्यो जिल्लामा विकास हुन सकेको छैन भन्ने पनि मापन गर्छ । नुवाकोटमा पनि धादिङकै हाराहारीमा २० युनिटभन्दा कम बिजुली खपत गर्ने ग्राहक संख्या ४० हजार तीन सय ४० छन् ।

नुवाकोटको कूल ६० हजार दुई सय ३१ ग्राहकमध्ये गार्हस्थ्य मात्रै ५८ हजार तीन सय ९३ छन् । यो संख्या कूल ग्राहकको ९६.९५ प्रतिशत हो । यति धेरै ग्राहक संख्या भए पनि यसबाट प्राधिकरणलाई गत वैशाखमा जम्मा एक करोड २० लाख आम्दानी भएको थियो । उता कूल ग्राहकमा जम्मा १.५१ प्रतिशत रहेको औद्योगिक ग्राहकबाट प्राधिकरणले सोही महिनामा एक करोड ७० हजार आम्दानी गरेको थियो । 

धादिङ र नुवाकोट प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् । देशभरकै आँकडा हेर्ने हो भने गत वर्ष प्राधिकरणको कूल ग्राहकमध्ये र्गाहस्थ्यको संख्या ३९ लाख ९३ हजार सात सय ४२ थियो । कूल ग्राहक ४२ लाख १७ हजार  सात सय १० मध्ये यो ९३.२४ प्रतिशत हो । यो वर्गको ग्राहकबाट प्राधिकरणले २६ अर्ब ९९ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

कूल ग्राहकमध्ये जम्मा १.३३ प्रतिशत अंश रहेको औद्योगिक ग्राहकबाट प्राधिकरणले गत वर्ष ३१ अर्ब ७४ करोड ६७ लाख रुपैयाँ आम्दानी गर्‍यो । यो कूल आम्दानीको ४२.७२ प्रतिशत हो । गत वर्ष प्राधिकरणले ७४ अर्ब ३० करोड रुपैयाँ आम्दानी गरेको थियो ।


Author

थप समाचार
x