अर्थ / बाणिज्य

असार मसान्तसम्म बेरुजू फर्स्योट गर्न मुख्यसचिवको निर्देशन

इकागज |
असार ६, २०७८ आइतबार १७:५६ बजे

काठमाडौँ : असार मसान्तसम्म बेरुजू फर्स्योटमा तदारुकता देखाउन मुख्यसचिव शंकरदास बैरागीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायहरूलाई निर्देशन दिएका छन् । बेरुजू फर्स्योटमा उदाहरण बन्नुपर्ने बताउँदै असार मसान्तसम्म बेरुजु फर्स्योटमा तदारुकता देखाउनुपर्ने उनले बताएका हुन् ।

मुख्यसचिवको अध्यक्षतामा विस्तारित उच्च व्यवस्थापन समूहको बैठक सम्पन्‍न भएको छ । उक्त बैठकमा विगतमा भएका निर्णयको समीक्षा गर्दै बेरुजू फर्स्योट, चालु र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था र तयारी एवम्‌ अन्य विविध विषयमा छलफल भएको छ ।

मुख्यसचिवले सार्बजनिक निकायहरुमा बेरुजु फर्स्योटलाई उच्च प्राथमिकता दिए पनि अपेक्षित नतिजा हासिल हुन नसकेकोले यसका लागि निकायका प्रमुख र प्रशासन प्रमुखले आर्थिक अनुशासन कायम गर्नका लागि उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् ।

चालु आर्थिक वर्ष को पूँजीगत खर्च न्यून देखिएको हुँदा असार मसान्त भित्र खर्च गर्न विशेष ध्यान दिने, आगामी आर्थिक वर्पको योजना तथा बजेट कार्यान्वयनको माइल स्टोन समयमा नै तयार गरी नीति तथा कार्यक्रम नतिजामुलक, रुपान्तरणकारी र विकासको दूरगामी सोंचअनुरुप कार्ययोजना बनाई कार्यान्वयनको व्यवस्था मिलाउने बिषयमा निर्देशन दिएका छन् ।

आर्थिक वर्ष ०७८/७९ को बजेट कार्यान्वयनको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक क्षेत्र, पूर्वाधार क्षेत्र, सामाजिक क्षेत्र र शासकीय क्षेत्रको क्लष्टर अनुसार प्रस्तुतिकरणको व्यवस्था मिलाउने समेत निर्देशन दिए ।



Author

थप समाचार
x