कहाँबाट थुप्रियो स्वीस बैंकमा नेपालीको धन, एफआइयू सूचना अदालतमा प्रमाण बन्दैन
काठमाडौँ : सन् २०२० मा स्वीस बैंकमा नेपालीको ३६ करोड ८ लाख २२ हजार स्वीस फ्रैंक अर्थात् ४८ अर्ब रुपैयाँ (सन् २०२० को जुन महिनाको विनिमय दर अनुसार) रहेको देखिन्छ । स्वीस नेशनल बैंकले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१५ यता स्वीस बैंकमा नेपालीको पैसा जम्मा हुने क्रम उल्लेख्य बढेको देखिन्छ ।
पञ्चायतकालदेखि नै ‘पम्फादेवी’ लगायत अनेक मिथकहरू प्रयोग गर्दै राजनीतिक दलहरूले राजदरबारले स्वीस बैंकमा पैसा राखेको बताउने गर्थे । तर गणतन्त्रपछि स्वीस बैंकमा नेपालीहरूको धन अझै बढेको छ ।
सम्पत्ति शुद्धीकरण र आतंकवादमा वित्तीय लगानी नियन्त्रणका लागि विश्वव्यापी सहकार्यले यसरी अपारदर्शी ढङ्गले स्रोत 'ट्रान्सफर' हुन जटिल देखिन्छ । वैदेशिक रोजगारीबाट आउनुपर्ने रेमिट्यान्स हुण्डीमा प्रयोग भएको अनुमानलाई बल दिनेगरी स्वीस बैंकमा बढीरहेको नेपालीको सम्पत्तिले यसैलाई संकेत गर्दछ ।
यस्तो रकम मूलतः स्रोतको वैधानिकता पुष्टी गर्न कठिन हुनेहरूले ‘पार्क’ गरेको तर यसमा ठोस अनुसन्धान हुन नसक्नुले भ्रष्टाचार, असुली, आयातमा अधिक बिजकीकरण, हुण्डी लगायतका माध्यमबाट पुर्याइएको हुनसक्छ । नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध छ । २०२१ सालमा बनेको ‘नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध गर्ने ऐन’ अहिलेसम्म बहाली रहेका कारण नेपालबाट तेश्रो देशमा वैधानकि तवरले लगानी लैजान सकिने अवस्था छैन । कानुनी प्रतिबन्धका बाबजुद पनि स्वीस बैंकमा नेपालीहरूको धन हरेक वर्ष बढ्दै जानुले यसमा संशय उत्पन्न गराएको हो । यसमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंकको मातहतमा रहेको वित्तीय जानकारी इकाइ (एफआइयू) ले अनुसन्धान गर्न सक्छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यस्ता पुँजी हस्तान्तरणसँग सम्बन्धित देशसँग नेपालको पारस्पारिक कानुनी सहायता सन्धि (म्युचुअल लिगल असिस्टेन्स ट्रीटी) नभएका कारण अनुसन्धान प्रभावकारीरूपमा अघि बढाउन नसकिएको जनाएको छ ।
वित्तीय जानकारी इकाइ (एफआइयू)ले आफ्नो सञ्जाल प्रयोग गरी यस्ता सूचनाहरू लिन सक्छ, तर एफआइयूको माध्यमबाट लिइएका सूचनालाई अदालतमा प्रमाणका रूपमा पेश गर्न सकिदैंन । लामो समयदेखि स्वीजरल्याण्ड लगायत अन्य मुलुकहरूसँग पारस्परिक कानुनी सहायता सम्झौताको पहल पनि अघि बढ्न सकेको छैन ।
विश्वभरका देशहरूबाट स्वीस बैंकमा सम्पत्ति थुप्रिनु, त्यी खातावालाहरूको सम्बन्धमा बैंकले राख्ने गोपनीयता हो । केही वर्षअघि स्वीजरल्याण्डमा रहेको एचएसबीसी बैंकबाट ‘डेटा लिक’ हुँदा पनि नेपालले खातावालाहरूको सूचना लिन खोजेको थियो, तर स्वीजरल्याण्डको केन्द्रीय बैंकले पारस्पारिक कानुनी सहायता सन्धि नभएको भन्दै दिन इन्कार गर्यो ।
सम्पत्ति शुद्धीकरण विभाग मात्र होइन, यी सूचना फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) का सदस्य देशहरूको वित्तीय जानकारी इकाइका प्रमुखहरू सम्मिलित एगमन्ट ग्रुपलाई समेत दिन स्वीस नेशनल बैंकले अस्वीकार गरेको थियो । जसका कारण त्यी खातावाला को हुन् भन्ने सम्बन्धमा प्रभावकारी अनुसन्धान गर्न कठिन भएको हो ।
स्वीस बैंकमा नेपालीको पैसा
वर्ष |
स्वीस फ्रैंक |
सन् २००८ |
८ करोड ६२ लाख |
सन् २००९ |
६ करोड ८८ लाख |
सन् २०१० |
९ करोड ७१ लाख |
सन् २०११ |
७ करोड ४६ लाख |
सन् २०१२ |
१२ करोड ५९ लाख |
सन् २०१३ |
८ करोड ४८ लाख |
सन् २०१४ |
१० करोड २२ लाख |
सन् २०१५ |
३१ करोड ४४ लाख |
सन् २०१६ |
३१ करोड ०६ लाख |
सन् २०१७ |
३२ करोड २८ लाख |
सन् २०१८ |
२४ करोड ८७ लाख |
सन् २०१९ |
१७ करोड ५८ लाख |
सन् २०२० |
३६ करोड ८ लाख |
स्रोत : एन्युल ब्यांकिङ्ग स्ट्याट्स्टीक्स, २०२०; स्वीस नेशनल बैंक
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया