अर्थ / बाणिज्य

राताम्मे बजारमा १८ कम्पनीले देखायो हरियो झन्डा

७१ अंकले घट्यो सेयर बजार, पूँजीकरण ३९ खर्ब ३७ अर्ब रुपैयाँ

इकागज |
असार ७, २०७८ सोमवार १६:३१ बजे

काठमाडौँ : सोमबार सेयर बजार ठूलो अंकले खस्किएको छ । अधिकांश सूचीकृत कम्पनीहरूको सेयर मूल्य घटेर नेप्से परिसूचक राताम्मे हुँदा १८ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । 

नेप्से परिसूचक ७१.०६ अंकले घटेर २८३४ बिन्दुमा पुगेको छ । कारोबारमा आएका सबै समूहका परिसूचक कमजोर छन् । सबैभन्दा ठूलो गिरावट जलविद्युत् र फाइनान्स समूहमा  देखिएको छ । पोखरा फाइनान्स र युनिभर्सल पावर कम्पनीको सेयर मूल्यमा उच्च दरमा गिरावट देखिएको छ । युनियन हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, लिबर्टी इनर्जी कम्पनी, गुह्येश्वरी मर्चेन्ट बैंक, प्रोग्रेशिभ फाइनान्स र पञ्‍चकन्या माइ हाइड्रोपावरको सेयर मूल्यमा उच्च गिरावट आएको छ । 


नारायणी डेभलपमेन्ट बैंक, कुमारी बैंक लिमिटेड प्रोमोटर सेयर, एचआइडिसिएल, एनबिबिएल डिबेञ्‍चर, नबिल डिबेञ्‍चर र एसबिएल डिबेञ्‍चरको सेयर मूल्यमा वृद्धि देखिएको छ । त्यसबाहेक १२ कम्पनीको सेयर मूल्यमा औषत १ प्रतिशतको दरमा वृद्धि भएको छ । 

एक लाख २७ हजार आठ सय ३७ पटकको कारोबारमा दुई करोड २५ लाख कित्ता सेयर किनबेच भएको छ । ११ अर्ब ६१ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको एक अर्ब ३० करोड रुपैयाँ सेयर किनबेच भएको छ । योसँगै बजार पुँजीकरण ३९ खर्ब ३७ अर्ब पुगेको छ । 


Author

थप समाचार
x