अर्थ / बाणिज्य

असार मसान्तसम्म भुक्तानी नभए निर्णायक संघर्ष गर्ने निर्माण व्यवसायी महासंघको चेतावनी

इकागज |
असार २७, २०८१ बिहीबार १८:३ बजे

काठमाडौँ- नेपाल निर्माण व्यवसायी महासंघले असार मसान्तसम्म पनि आफूहरूको भुक्तानी नभए निर्णायक संघर्ष गर्ने चेतावनी दिएको छ ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महासंघले आर्थिक वर्ष समाप्त हुनै लाग्दा पनि व्यवसायीहरूको अर्बौँ रकम भुक्तानी हुन बाँकी रहेकाले रकमान्तर गरी अहिलेसम्मको बाँकी रकम असार मसान्तभित्र भुक्तानी गर्न सरकारसँग माग गरेको हो । आफूहरूको समस्या समाधान नभए निर्णायक संघर्ष गर्न बाध्य हुने महासंघले चेतावनी दिएको छ ।


भुक्तानीको विकराल समस्या भोग्न बाध्य भइ निर्माण व्यवसायीहरूले केही स्थानीय निकाय, प्रदेश र संघका विकासे कार्यालयहरूमा तालाबन्दी सुरु गरेको संघका अध्यक्ष रवि सिंहले बताए । उनले असार मसान्तभित्र सबै भुक्तानी निकासा फुकुवाको व्यवस्थाका लागि सम्बन्धित कार्यालयलाई निर्देशन गरिदिन सरकारसँग माग गरे ।

अध्यक्ष सिंहले व्यवसायीहरूको रकम भुक्तान नभएसम्म नयाँ टेन्डरहरू ननिकाल्न र बजेट सुनिश्चितता नभएका, भुक्तानी लगाएका समस्याले पूरा हुन नसकेका ठेक्काहरू कानुन बमोजिम सुविस्ताका आधारमा अन्त्य गरी फरफारक गर्न पनि आग्रह गरे ।

महासंघले निर्माण व्यवसायीहरूको कुल ६० अर्ब रुपैयाँ भुक्तान हुन बाँकी रहे पनि त्यसतर्फ राज्यले खासै ध्यान नदिएको जनाएको छ । सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधन जारी भए पश्चात् म्याद थप भएपछि राज्यले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने दायित्व करिब ४० अर्ब रुपैयाँ र चालु आयोजनाहरूको करिब २० अर्ब भुक्तानी हुन बाँकी रहेको महासंघको भनाइ छ ।


Author

थप समाचार
x