अर्थ / बाणिज्य

साइकल प्रवर्द्धनका लागि नेपालकै ठूलो साइकल जात्रा 'कोरा २०२४' आयोजना हुने

इकागज |
साउन २, २०८१ बुधबार २०:५० बजे

काठमाडौँ- आगामी शनिबार साउन ५ गते देशकै ठूलो साइकल जात्रा 'कोरा २०२४' को १४ औं संस्करण आयोजना हुँदै छ, जहाँ करिब ४ हजार साइकल यात्रीले नेपालको १५ भन्दा बढी स्थानमा यात्रा तय गर्नेछन् । हरेक वर्ष जस्तै यो वर्ष पनि साइकल यात्रीहरूले सामाजिक कामको लागि रकम पनि संकलन गर्ने छ । यो वर्ष संकलन गरिने रकम ललितपुरको गुन्सिङ्गालमा रहेको साइकल पम्प ट्रयाक जस्तै नेपालगंजमा रहेको पम्प ट्रयाक सुधार गर्न प्रयोग गरिनेछ ।

सन् २०११ मा ३५ जनाबाट सुरु भएको काठमाडौँ कोरा साइकल यात्रा हरेक वर्ष पाटनको मंगलबजारबाट सुरु भइ काठमाडौँ उपत्यकाको एक फन्को लगाएर पाटनकै नागबाहालमा अन्त हुने गर्छ । साइकल यात्रीहरूले यस क्रममा आफ्नो इच्छा अनुसार ५० किलोमिटर, ७५ किलोमिटर, १०० किलोमिटर वा १४० किलोमिटरको यात्रा तय गर्नेछन् । हरेक वर्ष जुलाई महिनाको तेस्रो शनिबार आयोजना हुने कोरामा यो वर्षको काठमाडौँ कोरामा ललितपुर महानगरपालिका पनि सहआयोजकको रूपमा सहभागी भएको छ ।  


ललितपुर महानगरपालिकाको मेयर चिरिबाबु महर्जन भन्छन्, 'ललितपुर स्मार्ट सिटि बन्न चाहन्छ र यसको लागि नगरवासीहरूले साइकल चढ्न सक्ने वातावरण बनाइ साइकल संस्कृतिको विकास गर्न आवश्यक छ । हामीले ललितपुरमा साइकल प्रवर्द्धन गर्न साइकल लेन र साइकल स्टेन्ड बनाउने, र महिला साइकल यात्रीहरूलाई सहयोग गर्ने काम गरिरहेका छौं र ‘कोरा’ जस्ता स्थानीय प्रयासहरूसंगको सहकार्यले यस अभियानलाई थप टेवा दिनेछ ।'

साइकल संस्कृतिको विकास गर्न महिला, बालबालिका लगायत समाजका सबै वर्गलाई समेत समावेश गर्न आवश्यक भएकोले कोराले महिला सहभागिता बढाउन विशेष प्रयास गर्दै आइरहेको छ, जसको कारण गएको वर्ष काठमाडौँ कोरामा महिला यात्रीहरूको संख्या ३४% पुगेको थियो । यसै सम्बन्धमा ललितपुरका विभिन्न भागमा महिलाहरूलाई साइकल चढ्ने, साइकलको मर्मत सम्भार गर्ने र प्राथमिक उपचारको तालिम दिने काम पनि भैरहेको छ र यसमा स्थानीय महिला समूहहरू र USAID स्वच्छ हावा आयोजनाको समेत सहभागिता रहेको छ ।

कोरा आयोजनाको मूल उद्देश्य देशभरि नै साइक्लिस्ट समुदायहरू विकास गरि साइकल संस्कृतिको प्रवर्द्धन गर्नु हो । यसमा सोसल टुर्स, साइकल सिटि नेटवर्क नेपाल, पाङ्ग्रो, ललितपुर महानगरपालिका, USAID स्वच्छ हावा, अष्ट्रेलियन राजदूतावास, नबिल बैंक, टर्किस एअरलाइन्स, हिमालयन एभेरेस्ट इन्स्युरेन्स लगायत विभिन्न संघ संस्थाले सहकार्य गरेका छन् ।


Author

थप समाचार
x