अर्थ / बाणिज्य

बागमती प्रदेशमा बिजुली चोरी स्वाट्टै घट्यो

इकागज |
असार ९, २०७८ बुधवार १४:३७ बजे

काठमाडौँ : कुनै बेला भक्तपुर सबैभन्दा बढी बिजुली चोरी हुने जिल्लाका रुपमा ‘नाम कमाएको’ थियो । झन्डै ५० प्रतिशत अर्थात् वितरित बिजुलीको करिब आधा चोरी हुन्थ्यो । चोरी नियन्त्रणको प्रयास थाल्दा विद्युत् प्राधिकरणको भक्तपुर वितरण केन्द्रका प्रमुखले कुटाइ समेत खाएका थिए । 

अहिले अवस्था फरक छ । अहिले भक्तपुरमा बिजुलीको चुहावट जम्मा सात प्रतिशत मात्र छ । यो चुहावटलाई विशुद्ध प्राविधिक चुहावट मात्र हुने अवस्था रहेको भक्तपुर वितरण केन्द्रका प्रमुख राजकुमार रमण बताउँछन् । रमण भक्तपुर आउनुअघि विद्युत् चुहावट १३ प्रतिशतमा झरिसकेको थियो । उनको डेढ वर्षे कार्यकालमा सात प्रतिशतमा झार्न सफल भए ।


भन्छन्, ‘नांगा तारजति मोरियो, एउटै ट्रान्सफरमरले धेरै ठाउँमा वितरण भएको थियो, ठाउँ ठाउँमा थपियो, रुख काटियो, थ्री फेजमा स्मार्ट मिटरिङ गरियो ।’चुहावट घटाउने यी प्राविधिक उपक्रमबाहेक चोरी नियन्त्रणमा भक्तपुरले उल्लेखनीय सफलता हात पार्‍यो । रमणका अनुसार विगतमा जस्तो आजभोलि भक्तपुरवासीमा बिजुली चोर्नु हुँदैन भन्‍ने चेतना आएको छ । चोरी नियन्त्रणमा सबै राजनीतिक दलहरुले सहयोग गरेको उनी बताउँछन् । ‘अहिले भक्तपुरमा बिजुली चोरी छैन भने पनि हुन्छ,’ उनले भने । 

बागमती प्रदेशअन्तर्गत सबैभन्दा कम विद्युत् चुहावट भएको काठमाडौँ उपत्यका अन्तर्गतको बालाजु  र रत्नपार्क वितरण केन्द्र हो । गत चैतसम्मको तथ्यांक हेर्ने हो भने बालाजु  वितरण केन्द्रको विद्युत् चुहावट जम्मा २.७९ प्रतिशत छ । त्यस्तै रत्नपार्क वितरण केन्द्रको २.९८ प्रतिशत छ । 

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतको बागमती प्रदेश कार्यालयका प्रमुख श्रीराम पाण्डेका अनुसार बागमती प्रदेशभरिको समष्टिगत विद्युत् चुहावट जम्मा सात प्रतिशत छ । बागमती प्रदेशअन्तर्गत २० वटा वितरण केन्द्र छन् । तीमध्ये सबैभन्दा उच्च चुहावट भएको जिल्ला सिन्धुपाल्चोक हो । 

प्रदेश कार्यालय प्रमुख पाण्डेका अनुसार सिन्धुपाल्चोकमा हुकिङ गरेरै बिजुली चोर्ने गरिएको र कोभिड १९ का कारण गाउँ गाउँ अनुगमन गर्न नसकिएको कारण चुहावट बढेको हो । सिन्धुपाल्चोकमा २६.९६ प्रतिशत चुहावट छ ।

आर्थिक वर्ष २०७७/७८ को चैत महिनासम्म सिन्धुपाल्चोक वितरण केन्द्रले एक करोड ६५ लाख ५४ हजार युनिट बिजुली लियो । उसको बिक्री गर्दा एक करोड २३ लाख  ८४ हजार युनिटको मात्र पैसा आयो । प्राधिकरणले ४५ लाख ७० हजार युनिट बराबरको आम्दानी गुमायो । प्राधिकरणको औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ १४ पैसाका दरले तीन करोड ७२ लाख रुपैयाँ घाटा भयो । ‘हामी कोभिड–१९ को कहर कम हुँदै गएपछि व्यापक रुपमा चुहावट नियन्त्रणमा उत्रिनेछौं,’ पाण्डेले इकागजसँग भने । 

सिन्धुपाल्चोकको हेलम्बु, काभ्रे र पाँचखाल वितरण केन्द्रहरु पनि उच्च चुहावट भएका निकायमा पर्छन् । तर यी वितरण केन्द्रमा बिजुली चोरीका कारण नभई ११ केभीका दुई सय किलोमिटरसम्मका लम्बेतान वितरण लाइन भएकाले चुहावट उच्च भएको हो । हेलम्बुमा २४.७३, काभ्रेमा १४.४२ र पाँचखालमा १६.५ प्रतिशत चुहावट छ । 

पाण्डेका अनुसार काभ्रेको कोसीपारिसम्म बिजुली पुर्‍याउन १५० देखि दुई सय किलोमिटर लामो ११ केभीका लाइन छन् । थोरै ट्रान्सफरमर, एक सवस्टेशनदेखि अर्काे सवस्टेशनसम्म लामो दूरीलगायतका कारणले प्राविधिक चुहावट उच्च तुल्याएका हुन् । प्राधिकरणले यसमा सुधार थालिसकेको पाण्डे बताउँछन् । 


Author

थप समाचार
x