अर्थ / बाणिज्य

यातायात कार्यालय मलंगवाद्वारा ६ करोड बढी राजस्व संकलन

इकागज |
साउन २९, २०८१ मंगलबार ११:२४ बजे

सर्लाही - यातायात व्यवस्था कार्यालय मलङ्गवाले गत आर्थिक वर्ष २०८०/८१ मा ६ करोड बढी राजस्व संकलन गरेको छ । गत आवमा यस कार्यालयले ६ करोड ३६ लाख ५८ हजार ९१ बराबरको राजस्व संकलन गरेको कार्यालय प्रमुख राकेशकुमार यादवले जानकारी दिए । उनका अनुसार यस कार्यालयमा भाडाका सवारीबाट आयकरबापत १४ लाख १५ हजार पाँच सय राजस्व संकलन भएको छ । 

यस्तै पटके, रुट परमिटलगायत कारबाहीबाट दुई लाख ९२ हजार आठ सय ४०, चालक अनुमतिपत्र र सवारी दर्ता किताब नवीकरणबापत एक करोड ४६ लाख ३८ हजार तीन सय १५ संकलन भएको कार्यालय प्रमुख यादवले बताए । सवारीसाधन करबाट चार करोड ७३ लाख ११ हजार चार सय ३६ राजस्व संकलन भएको कार्यालयले जनाएको हो । 


कार्यालयले गत आवको चैत मसान्तको एक दिनमा रु ७० लाख बढी राजस्व संकलन गरेको थियो । समयमै सवारी किताब नवीकरण नगरेका तथा सवारी कर नतिरेका सेवाग्राहीलाई मधेस प्रदेश सरकारले जरिवाना रकम मिनाहा गरेको थियो । जरिवाना मिनाहासम्बन्धी ढिला गरेर जानकारी पाएका सेवाग्राहीको राति १२ बजेसम्म मलङ्गवा कार्यालयमा भीड लागेको थियो । उक्त दिन रु ७० लाख बढी राजस्व संकलन गरेको कार्यालय प्रमुख यादवले बताए । 

“हामीले चैत मसान्तमा एकै दिन रु ७० लाखसम्म राजस्व संकलन गरेका थियौँ”, उनले भने, “राति १२ बजेसम्म कार्यालयमा बसेर सेवा दिएका थियौँ । जेठ ४ गतेबाट चालक अनुमतिपत्र परीक्षा (ट्रायल)समेत सुरु गरेका छौँ । यसले सेवाग्राहीलाई थप सुविधा पुगेको छभने राजस्व संकलन दायरा फराकिलो भएको छ ।”

विसं २०८० साल मङ्सिर २७ गते स्थापना भई यस कार्यालयले सेवा प्रारम्भ गरेको हो । हरिवन नगरपालिका–३ निवासी रमा कोइरालाले यातायात सेवा कार्यालयको सेवा प्रभावकारी भएको जानकारी दिए । यसभन्दा अगाडि यातायातसम्बन्धी सेवाका लागि यहाँका सेवाग्राहीलाई वीरगञ्ज, जनकपुर, बर्दिबाससम्म धाउनुपर्ने बाध्यता थियो । 
रासस


Author

थप समाचार
x