अर्थ / बाणिज्य

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २४ औं साधारण सभा सुरू

इकागज |
मंसिर १५, २०८१ शनिबार १२:५० बजे

काठमाडौँ- पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २४ औं बार्षिक साधारण सभा बुटवलमा सुरू भएको छ।

सभा उद्घाटन समारोहमा प्रमुख अतिथी नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठ रहेका थिए। सभामा पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष टिकाराम गौतमले आफ्नो स्वागत मन्तव्य प्रस्तुत गर्दै देशको समृद्धि र समग्र यातायात क्षेत्रमा भएका चुनौतीहरूका बारेमा चर्चा गरेका थिए। उनले संस्थाको स्थापना कालदेखि हालसम्मका उपलब्धिहरू र ट्रक व्यवसायीहरूको हकहितको संरक्षणका लागि समितिले गरिरहेको कार्यहरूको विवरण प्रस्तुत गरेका थिए।


अध्यक्ष गौतमले विशेष गरी दुर्घटनामा परेका व्यवसायी, चालक, सह-चालक, कर्मचारी र अन्य आम जनताप्रति श्रद्धाञ्जली अर्पण गर्दै, समितिले बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै दुर्घटना न्यूनिकरण अभियान सञ्चालन गरेको जानकारी दिए। साथै, मृतकका हकवालालाई समितिबाट क्षतिपूर्ति र औषधी उपचारको व्यवस्था गरिएको बताए।

उनले पेट्रोलियम पदार्थको मुल्य वृद्धि र सडकको जीर्ण अवस्थाका कारण ट्रक व्यवसायमा परेको प्रत्यक्ष असरको विषयमा सरकारसँग ध्यानाकर्षण गराएका छन्। साथै, भारतीय ट्रकहरूको अत्यधिक भारवहन र सडकमा पर्ने नकरात्मक प्रभावका बारेमा गम्भीर चिन्ता व्यक्त गर्दै, त्यसको नियन्त्रणका लागि आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेका छन्।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष श्रेष्ठले नेपालको संविधान २०७२ अन्तर्गत ट्रक व्यवसायीको अधिकारको संरक्षणका लागि व्यवसायीहरूले एकजुट भएर आवाज उठाउनुपर्ने अवस्थाको आवश्यकता रहेको बताएका छन्। उनले भारतीय ट्रकको अनियन्त्रित सञ्चालन र यसको कारण सडकको क्षति र राजस्वको घाटा भइरहेका बारेमा चर्चा गर्दै, सरकारलाई यो विषयमा गम्भीर ध्यान दिन अनुरोध गरे।

त्यस्तै महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले ट्रकहरूको ओभरलोडिङ नियन्त्रण गर्न अहिले देशभर २१ वटा धर्मकाटा सञ्चालनमा रहेको बताउँदै सबै धर्मकाटालाई क्रमशः डिजिटल बनाउने प्रक्रिया अघि बढाइने बताए ।

उनले डिजिटलाइजेशनपछि ओभरलोडको डेटा र ट्रकहरूको जानकारी सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिने बताए । साधारण सभामा व्यवसायीहरूको हकहितको संरक्षण र ढुवानी व्यवस्थापनका सन्देशमा सकारात्मक निर्णयहरू गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ।


Author

थप समाचार
x