अर्थ / बाणिज्य

संकटग्रस्त जलविद्युत् आयोजनाका व्यथा

यसरी खेर गइरहेछ उत्पादित स्वदेशी बिजुली

विकास थापा |
असार २७, २०७८ आइतबार १७:८ बजे

काठमाडौँ  ः टुंगन ठोस्‍ने र खानीखोला जलविद्युत् (६.३६ मेगावाट संयुक्त) ले विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) गर्दा वार्षिक रुपमा १८ करोड ८१ लाख रुपैयाँ आम्दानी हुने उल्लेख थियो । तर विद्युत् बिक्रीबापत वार्षिक रुपमा आयोजनाले हात पार्‍यो ६ करोड २४ लाख । यो आयोजनाले ६५.८५ प्रतिशत आम्दानी गुमायो । 

यी दुई आयोजनामध्ये टुंगन ठोस्ने (४.३६ मेगावाट) ले २०७३ कात्तिक ९ गतेदेखि बिजुली उत्पादन सुरु गर्‍यो । त्यसैको क्यासकेड खानीखोला (२ मेगावाट) ले पनि सोही वर्षको मंसिर २० गतेदखि उत्पादन थाल्यो । तर विद्युत् प्राधिकरणले वाचा गरेअनुसार प्रसारण लाइन बनाइदिएन । कनेक्सन एग्रिमेन्ट (जडान सम्झौता) मा २०७३ साल कात्तिकमा जसरी पनि लाइने बनाइदिने प्राधिकरणको वाचा थियो । सकेन । पीपीएअनुसार अब प्राधिकरणले उत्पादित ऊर्जाको जम्मा ५ प्रतिशत मात्र क्षतिपूर्ति दिने प्रावधान छ । १८ करोड ८१ लाख रुपैयाँ बिजुली बेचेबापत प्रवर्द्धक पाउनुपर्नेमा पीपीएको प्रावधान अनुसार पाँच प्रतिशत दिंदा जम्मा ९४ लाख रुपैयाँ मात्र हुन्थ्यो । 


यस्तो हर्जाना पनि कनि तिर्ने भन्दै प्राधिकरणले ‘कन्टिजेन्सी प्लान’ (आकस्मिक योजना) बनाएर पीपीए नै संशोधन गर्न लगायो । संशोधनले प्राधिकरणले उक्त पाँच प्रतिशत जरिवाना नतिर्ने, प्रसारण लाइनले खामेसम्म बिजुली प्राधिकरणले लिने, प्रवर्द्धकले अरु दाबी नगर्ने र अरु वैकल्पिक व्यवस्था पनि गर्ने बन्दोबस्त गर्‍यो । करिब ३१ वटा यस्ता आयोजनासँग प्राधिकरणले पीपीए संशोधन गर्‍यो र यो क्रम अद्यापि छ । 

प्राधिकरणले टुंगन ठोस्ने र खानीखोलाले उत्पादन गरेको बिजुली माल्टा–मातातीर्थ ३३ केभी लाइनमार्फत काठमाडौंको मातातीर्थमा जोड्ने सम्झैता थियो । प्राधिकरणले बनाउन सकेन । अब संशोधित पीपीएअनुसार विकल्पमा रुपमा ७५ किलोमिटर लामो ११ केभीको लाइनमा यी दुई आयोजनाको बिजुली जोडिदियो । 

दक्षिण ललितपुर सामुदायिक ग्रामीण विद्युतीकरणको लाइनमा जोडेर फर्पिङ फिडर र चापागाउँ फिडरमा जोडियो । पटक–पटक ट्रिप हुने, क्षमताअनुसार बिजुली बोक्न नसक्ने लामो वितरण लाइनबाट बिजुली बेच्नु पर्दा यी दुई आयोजनाले हरेक वर्ष १२ करोड ५७ लाख रुपैयाँ गुमाउँदै गए । हालसम्म यी दुई आयोजनाबाट प्रवर्द्धकलाई ६६ करोड ७५ लाख रुपैयाँ घाटा परिसकेको छ । बिजुली बेचेर प्राप्त भएको आम्दानीले बैंकको ४६ प्रतिशत मात्र ब्याज तिर्न पुग्छ ।  

माल्टा सवस्टेसन तयार भएको तर हालसम्म ३४ कि.मी. ३३ के.भी. प्रसारण लाइनको ६० प्रतिशत पनि निर्माण सम्पन्न नभएकोको परिणाम यी दुई आयोजनाले झेल्नुपर्‍यो ।  खानीखोलाको कुल विद्युत उत्पादनको ३३ प्रतिशत मात्र वैकल्पिक व्यवस्थाबाट प्रसारण भई ६७ प्रतिशत विद्युत् प्रसारण लाईन नबनेको कारणले क्षति भइरहेको महालेखा परीक्षकको कार्यमूलक प्रतिवेदन, २०७७ मा पनि उल्लेख छ ।

पहिलो वैकल्पिकमा आयोजनालाई धेरै आर्थिक नोक्सानी भएपछि प्राधिकरणले दोस्रो विकल्प अपनायो— २०७६ फागुन २० गतेदेखि । माण्डु हाइड्रोपावरको स्वीचयार्डमा लगी त्यहाँबाट कुलेखानी पुर्‍याइएको कम्पनीका सीइओ भरत थापा बताउँछन् । ‘दोस्रो विकल्पमा गएपछि उत्पादित ऊर्जाको ८० देखि ९० प्रतिशत डेलिभर भएको छ,’ थापाले इकागजसँग भने । 

अब अर्काे जलविद्युत्‌को अवस्था हेरौं । ४.१६ मेगावाटको बराम्ची जलविद्युत्‌को वार्षिक आम्दानी हुनुपर्थ्यो १२ करोड ८३ लाख, तर भइरहेको छ  ४ करोड ७७ लाख रुपैयाँ । अर्थात् ६२.७७ प्रतिशत आम्दानी गुमाइरहेको छ । झन्डै १३ करोड आम्दानी हुनुपर्नेमा करिब पौने पाँच करोड रुपैयाँ आएपछि यो आयोजना रुग्ण त हुने नै भयो । 

यो आयोजनाको आम्दानीले जम्मा ८८ प्रतिशत मात्र ब्याज तिर्न सक्छ । नपुग ब्याज यसका प्रवर्द्धकहरूले घरबाट हालेर तिरिरहेका छन् । ब्याज तिर्न नसके पनि कालोसूचिमा परिने जोखिमले घरबाट हालेका हुन् । बराम्चीको अहिलेसम्मको नोक्सानी २५ करोड ८७ लाख रुपैयाँ पुगेको छ । 

ऊर्जा मन्त्रालयले गरेको अध्ययन अनुसार बिजुली बेचेर सबैभन्दा कम घाटा परेको आयोजना चर्नावती (४.४५ मेगावाट) मात्र हो । चर्नावतीको वार्षिक ११ कराड २० लाख रुपैयाँ आम्दानी हुने गरी ऊर्जा सम्झौता (पीपीए) छ । तर उसले १० करोड ७२ लाख रुपैयाँ मात्र आम्दानी गरेको तथ्यांकले देखाएको छ । 

अध्ययन भएका २५ वटै आयोजनाको हालत उस्तै छ । यसो हुनुको सबैभन्दा मुख्य कारण प्राधिकरणले समयमा प्रसारण लाइन नबनाइदिएर हो । प्रसारण लाइन नभएकै कारण आम्दानी गुमाउँदै जाने निजी क्षेत्रका आयोजनाहरुको संख्या थपिंदो छ । निजी क्षेत्रले गरेको अनुमान अनुसार निर्माण सम्पन्न भएका करिब ५० वटा आयोजनाले प्रसारण लाइन अभावमा आर्थिक क्षति बेहोर्न बाध्य भएका छन् ।  


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x