संकटग्रस्त जलविद्युत् आयोजनाका व्यथा
२५ वर्षसम्म ऋण तिर्न नसक्ने, मोटाउने बैंक मात्रै
काठमाडौँ : बिजुली उत्पादन गर्यो, खेर फाल्नु पर्ने हुन्छ । विद्युत् प्राधिकरणले उत्पादित बिजुली लिन नसकेपछि खेर त जाने नै भयो । बिजुली बेचेर हुने प्रक्षेपित आम्दानीले नपुगेछि साँवा र ब्याज तिर्न पुग्ने कुरै भएन । जति आम्दानी हुन्छ बैंकको ब्याज तिर्यो । सक्नेले अपुग ब्याज र साँवा घरबाट हाल्यो । नसक्नेले हात उठायो ।
उत्पादन निर्माण पूरा भएर पनि यस्तो अवस्था झेल्ने आयोजनाको संख्या ३६ पुगेको छ । तीमध्ये २५ वटा आयोजनाको आर्थिक अवस्था नाजुक छ । नाजुमध्ये पनि गएगुज्रेकै अवस्था अर्थात् २५ वर्षमा पनि ऋण तिर्न नसक्ने आयोजना संख्या डेढ दर्जन छन् ।
यो अवस्था आउनुमा बिजुली उत्पादक कम्पनीहरूको थेग्नै नसक्ने घाटा प्रमुख कारण हो । ऊर्जा मन्त्रालयले गरेको अध्ययनले बिजुली उत्पादन भएदेखि हालसम्म खानीखोला–ठोस्ने संयुक्त (६.३६ मेगावाट) ले ६६ करोड ७५ लाख रुपैयाँ घाटा बेहोरेको छ । खानीखोलाकै नियति भोग्ने अर्काे आयोजना हो चाकु खोला (संयुक्त ६.५७ मेगावाट) । यसले पनि हालसम्म ६२ करोड २८ लाख घाटा बेहोरिसकेको छ । गत वर्षको हिसाबमा चाकुखोलाले अझै १६ वर्ष ऋण तिर्न बाँकी नै छ ।
रुग्ण तथा संकटग्रस्त जलविद्युत् आयोजनाको अध्ययन गर्न निजी क्षेत्रबाट संयोजक तोकिएको सूर्यप्रसाद अधिकारीका अनुसार यी आयोजनाहरूको बढ्दो घाटाका कारण यिनले अझै सवा अर्ब रुपैयाँ बैंकको ऋण तिर्न बाँकी छ । ‘यी आयोजनाले औसतमा प्रतिमेगावाट १० करोड ७० लाख ऋण प्रवाह गरेको देखिन्छ,’ अधिकारीले इकागजसँग भने ।
उनका अनुसार प्रवर्द्धकहरूले प्रतिमेगावाट ओसत चार करोड ७० लाख रुपैयाँ स्वपुँजी (शेयर) लगानी गरेका छन् । ‘कूल मिलाएर यी संकटग्रस्तावाला आयोजनामा निजी प्रवर्द्धकहरूले आठ अर्ब रुपैयाँ हालेका छन्,’ अधिकारीले भने, ‘२५ वर्षमा पनि यिनले बैंकको ऋण तिर्न सक्दैनन, केवल बैंक मात्र मोटाउनेछन् ।’
यो अवस्था आउनुको मुख्य कारण विद्युत् प्राधिकरणले समयमै प्रसारण लाइन नबनाउनु, वितरण लाइनमा जोडिएका निजी क्षेत्रका विद्युत् गृहले उत्पादन गरेका बिजुली प्रसारण गर्न नसक्नु, आफै बिजुली लिन नसक्ने अनि आफै जरिवाना लिने विद्युत् खरिदसम्बन्धी गलत नीति हावी हुनु लगायत हुन् ।
यी आयोजनाहरूमा लगानी गर्ने विभिन्न वाणिज्य बैंकहरूका लागि भने यी संकटग्रस्त अवस्थामा पुगेकाहरू दुहुनो गाई सरह भएका छन् । अधिकांश प्रवर्द्धकहरूका अन्य व्यवसायमा पनि सहभागी भएकाले ऋण नतिर्दा सम्भावित कालोसूचीमा पर्ने डरका कारण खल्तीबाट हाल्न बाध्य भएको प्रवर्द्धकहरूले बताए ।
यो पनि
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया