अर्थ / बाणिज्य

कैलालीमा लक्ष्यभन्दा बढी राजस्‍व संकलन

इकागज |
साउन ६, २०७८ बुधवार ८:१८ बजे

फाइल फोटो

धनगढी - कैलाली जिल्लामा रहेका राजस्‍व संकलन हुने कार्यालयबाट गत आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यभन्दा बढी राजस्‍व संकलन भएको छ । जिल्लास्थित आन्तरिक राजस्‍व कार्यालय, करदाता सेवा कार्यालय लम्की र कैलाली भन्सार कार्यालयबाट लक्ष्यभन्दा धेरै राजस्‍व संकलन भएको यी कार्यालयले जनाएका छन् । 

आन्तरिक राजस्‍व कार्यालय कैलालीले गत आव २०७७/७८ मा पाँच अर्ब ५३ करोड रुपैयाँ राजस्‍व संकलन गरेको छ । कार्यालयलाई गत आवमा आन्तरिक राजस्‍व विभागले . चार अर्ब ५० करोड राजस्‍व उठाउने लक्ष्य दिएकामा पाँच अर्ब ५३ करोड राजस्‍व संकलन भएको कार्यालयका सूचना अधिकारी हिरानन्द देवकोटाले जानकारी दिए । 'यो राजस्‍व लक्ष्यभन्दा २२.८७ प्रतिशत बढी हो', देवकोटाले भने,'यस वर्ष लक्ष्यभन्दा राजस्‍व राम्रो संकलन भएको छ ।'


कैलालीको लम्कीस्थित करदाता सेवा कार्यालयबाट पनि गत आवमा ५१ करोड ७४ लाख १० हजार राजस्‍व संकलन भएको छ । आयकरतर्फ २७ करोड ७१ लाख ५८ हजार, आन्तरिक करतर्फ १७ करोड ७२ लाख एक हजार, घरबहाल करबाट एक करोड १४ लाख ६९ हजार, अन्तःशुल्कबाट चार करोड १९ लाख चार हजार, ब्याजदरतर्फ ९४ लाख ८२ हजार, स्वास्थ्य सेवाकर १० हजार र शिक्षा सेवा शुल्क एक लाख ८७ हजार राजस्‍व संकलन भएको छ ।

अघिल्लो आव २०७६/७७ मा करदाता सेवा कार्यालय लम्कीबाट तीन करोड ९९ लाख ५५ हजारमात्र राजस्‍व संकलन भएको थियो । अघिल्लो आवको तुलनामा गत आव २०७७/७८ मा करदाता सेवा कार्यालय लम्कीबाट ४७ करोड ७४ लाख ५५ हजार बढी राजस्‍व संकलन गर्न सफल भएको करदाता सेवा कार्यालय लम्कीका प्रमुख सेतबहादुर शाहीले जानकारी दिए । “अघिल्लो वर्षभन्दा यस वर्ष राजस्‍व संकलनमा सुधार आएको छ”, उनले भने । 

कैलाली भन्सार कार्यालयले पनि गएको आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्‍व उठाएको छ । गत आव २०७७/७८ मा कैलाली भन्सार कार्यालयलाई आठ अर्ब २१ करोड राजस्‍व उठाउने लक्ष्य लिएकामा आठ अर्ब ८४ करोड राजस्‍व उठेको कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत फडेन्द्र खतिवडाले जानकारी दिए । 

“कैलाली भन्सार कार्यालयबाट गत वर्ष पेट्रोलियम पदार्थ, ट्र्याक्टर, खाद्यान्न तथा फलफूलजस्ता वस्तुको आयात धेरै भएको छ”, खतिवडाले भने, “सबैलाई कदरको दायरामा ल्याउन प्रयास निरन्तर गरिरहेका छौँ ।”

यता टीकापुरस्थित सत्ती भन्सार कार्यालयले आव २०७७/७८ मा १५ करोड ८५ लाख सात हजार ९७३ राजस्‍व उठाएको छ । कार्यालयलाई भन्सार विभागले आव २०७७/७८ मा १४ करोड २३ लाख राजस्‍व उठाउनुपर्ने वार्षिक लक्ष्य तोकेको थियो । कार्यालयले लक्ष्यभन्दा बढी राजस्‍व उठाएको सत्ती भन्सार कार्यालय खक्रौलाका प्रमुख विमलकुमार शाहले जानकारी दिए । 'अघिल्लो आव २०७६/७७ मा पाँच करोड ८० लाख राजस्‍व उठेको थियो', कार्यालय प्रमुख शाहले भने,'अघिल्लो वर्षको तुलनामा तीन गुणा बढी राजस्‍व उठाउन सफल भएका छौँ ।'


Author

थप समाचार
x