अर्थ / बाणिज्य

राष्ट्रिय योजना आयोगमा प्रधानमन्त्रीको रोजाई शंकर शर्मा, क्याम्प–क्याम्पबाट अन्य पनि लबिङमा

इकागज |
साउन ६, २०७८ बुधवार १५:२४ बजे

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शंकर शर्मालाई रोजेका छन् । उनले मुख्यसचिव शंकरदास वैरागीलाई शर्मालाई बोलाउन निर्देशन  गरेका छन् । डा. शर्मा अहिले अमेरिकाको पारिवारिक भ्रमणमा रहेकाले उनी भ्रमण छोट्याएर नेपाल फर्कदैंछन् । 

यसअघि पनि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष तथा अमेरिकाका लागि नेपाली राजदूतको रूपमा काम गरिसकेका शर्मालाई प्रधानमन्त्री देउवाले कोभिड–१९ पछि अर्थतन्त्रको पुनरुत्थान तथा यसका तात्कालीक र दीर्घकालीन असर न्यूनीकरणका लागि काम गर्न सक्ने र अनुभवी व्यक्तिका रूपमा खोजेका हुन् । 


सत्तासमीरणमा माओवादीलाई अर्थ मन्त्रालय दिएका देउवा कोभिड–१९ पछिको चुनौती न्यूनीकरणका लागि सरकारबाट हस्तक्षेप गर्न सक्ने व्यक्तिलाई राष्ट्रिय योजना आयोगमा उपाध्यक्षको भूमिका सुम्पिन चाहेको बताइन्छ । 

योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेलले पनि रूचि देखाएका छन् । उनलाई राष्ट्रिय योजना आयोगमा समष्टिगत आर्थिक क्षेत्र हेर्नेगरी सदस्य प्रस्ताव गरिएकोमा उनले आफूलाई उपाध्यक्ष नभए प्रधानमन्त्रीको आर्थिक सल्लाहकार मध्ये एक पद दिन भनेको बालुवाटार स्रोतले बताएको छ । 

त्यस्तै प्रधानमन्त्री देउवा निकटस्थ नेता प्रकाशशरण महतसँग निकट रहेर नेपाली कांग्रेसको कोभिड–१९ अनुगमन समितिमा काम गरेका साथै यसअघि आयोगमा सदस्य रहिसकेका डा. प्रभु बुढाथोकीले पनि उपाध्यक्षका बन्न पहल गरिरहेका छन् । अन्य दलसँग सत्तासमीकरणमा सरकार बनेको र सोही आधारमा अन्य दलसँग पनि पदहरू सेयर गर्नुपर्ने भएकाले प्रधानमन्त्री देउवाले भने उनीसम्म पुग्नेलाई धेरै अपेक्षा नगर्न र पार्टीमा काम गर्न आग्रह गर्ने गरेका छन् । 


Author

थप समाचार
x