अर्थ / बाणिज्य

विष्णु अग्रवाल बने सीएनआईको अध्यक्ष

इकागज |
साउन ६, २०७८ बुधबार २०:२१ बजे

काठमाडौँ — नेपाल उद्योग परिसंघ (सीएनआई)को नेतृत्व व्यवसायी विष्णुकुमार अग्रवालले सम्हालेका छन् । परिसंघमा दुई–दुई वर्षमा नेतृत्व परिवर्तन हुने प्रचलन छ । परिसंघको १८ औं वार्षिक साधारणसभाबाट अग्रवाल परिसंघको अध्यक्ष चयन भएका हुन् । अग्रवाल यसअघि परिसंघको बरिष्ठ उपाध्यक्ष रहेका थिए । 

अग्रवालले यसअघि परिसंघ अन्तर्गतको ‘योङ इन्टरप्रेनर फोरम’ र परिसंघको पूर्वाधार विकास समिति नेतृत्व गरिसकेका छन् । उनी फुटबलर पनि हुन् र खेलकुदमा अहिले पनि उनको संलग्नता छ । उनी नेपाल सुपर लिग विजेता काठमाडौं रेजर्स फुटबल क्लबका प्रवद्र्धक छन् । नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत अग्रवाल एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक हुन् ।  परिसंघको साधारणभाले ३७ जना राष्ट्रिय परिषद सदस्य चयन गरेको छ । त्यसमध्येबाट ७ जना उपाध्यक्ष चयन हुनेछन् । 


राष्ट्रिय परिषदमा संस्थापक समूहबाट अमित मोर, रतनलाल केडिया, राहुल कुमार अग्रवाल, सन्दिप कुमार शारडा, वरुण कुमार तोडी, शुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेश कुमार अग्रवाल, चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दिपक अग्रवाल, सुरज भक्त पौडेल, निर्वाण कुमार चौधरी, बिक्रम सिंघानिया, दिलिप अग्रवाल, शरद कुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाई चयन भएका छन् । 

यसैगरी प्रतिष्ठानगततर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्र राज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मी प्रसाद सुवेदी, गुरु प्रसाद न्यौपाने, राजीव कुमार गुप्ता, राज बहादुर शाह, पम्फा धमला, आशीष गर्ग, द्विराज शर्मा (सिवाकोटी), अशोक शेरचन, तारा प्रसाद पौड्याल र हितेश गोल्छा छानिएका छन् । संस्थागत सदस्य समूहतर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र बसन्तबहादुर चन्द राष्ट्रिय परिषद सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । 

युनियन अफ एसियन चेम्बर्सको शुभारम्भ
परिसंघको साधारणसभामा प्रधानन्त्री देउवाले युनिएन अफ एसिएन चेम्बर्सको शुभारम्भ गरेका थिए । एसियाली देशका चेम्बरको साझा मञ्च निर्माण गर्ने उद्देश्यले युनिएन अफ एसिएन चेम्बर्सको शुभारम्भ गरिएको सीएनआईले जनाएको छ । 

युनिएन अफ एसिएन चेम्बर्सको नेतृत्व अहिले परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले लिएका छन् । कार्यक्रममा चौधरीले एसियाली देशहरुमा व्यापार सहजीकरण गर्ने, क्षेत्रीय आर्थिक विकासमा योगदान गर्ने र एसियालाई २१ औं शताब्दीको आर्थिक केन्द्र बनाउने गरी अघि बढ्ने उद्देश्य राखिएको उल्लेख गरेका छन् । 


Author

थप समाचार
x