अर्थ / बाणिज्य

अर्थमन्त्रीले गभर्नरलाई भने, ‘बजेटमा केही संशोधन आउँछ कि !, मौद्रिक नीति त्यसपछि जारी गर्नुहोला’

इकागज |
साउन ९, २०७८ शनिबार १९:५ बजे

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकले जारी गर्न लागेको यस आर्थिक वर्ष २०७८–७९ को मौद्रिक नीति केही दिन रोक्न गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएका छन् । अर्थमन्त्रीले राष्ट्र बैंकलाई जारी गर्न तयार पारेको मौद्रिक नीति रोक्न लगाउनुको कारण भने त्यति चित्तबुझ्दो छैन । अर्थमन्त्रीले संसदमा पेश भएको अध्यादेश बजेटमा केही संशोधन आएको खण्डमा त्यसलाई समेत दृष्टिगत गरी मौद्रिक नीति ल्याउनुपर्ने भनेका छन् । 

यद्यपि अर्थमन्त्रीले वित्त नीति र मौद्रिक नीतिबीचको भेदलाई राम्ररी नखुट्याएका कारण मौद्रिक नीति जारी गर्न ढिलाइ भैरहेको नेपाल राष्ट्र बैंक सञ्चालक समितिका एक सदस्यले बताए । अर्थतन्त्रलाई पुनरुत्थान गर्न यसअघिका सुविधाहरूलाई निरन्तरता दिने भनेर पूर्ववर्ती अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको अध्यादेश बजेटमा उल्लेख छ ।


अर्थमन्त्री शर्माले आगामी मौद्रिक नीतिका बारेमा गत सातादेखि नै छलफल गर्दै आएका छन् । अर्थतन्त्र पुनरुत्थानका लागि वित्तीय क्षेत्रबाट प्रदान गरिएका छुटलाई जारी राख्ने, मुद्रास्फित ६.५ प्रतिशत राख्ने लगायत घोषणा भैसकेका छन् । बजेटमार्फत् नै मौद्रिक नीतिको कार्यदिशा निर्धारण गर्नेगरी केन्द्रीय बैंकको स्वायत्ततालाई अंकुश लगाउने काम पूर्ववर्ती सरकारहरूले पनि गर्दै आएका हुन् । 

यसपटक मन्त्री शर्माले मौद्रिक नीति सार्वजनिक गर्ने नियमित तालिकामा पनि हस्तक्षेप गरेका छन् । यदि मन्त्री शर्माले बजेटको संशोधन कुरेको खण्डमा मौद्रिक नीति सार्वजनिक हुने समय अझै पर धकेलिने बुझिएको छ । 
 


Author

थप समाचार
x