अर्थ / बाणिज्य

साढे सात अर्ब रुपैयाँको खोप आयात

अत्यधिक आयात हुने वस्तुमा खोपले चाँदीलाई उछिन्यो

पवन तिमिल्सिना |
साउन ११, २०७८ सोमवार ८:१६ बजे

काठमाडौँ : चालु आर्थिक वर्षमा मानव औषधोपचारका लागि साढे सात अर्ब रुपैयाँ बराबर खोप आयात भएको छ । हालसम्मकै उच्च परिमाणमा खोप आयात भएको हो । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा सात अर्ब ६७ करोड रुपैयाँ बराबर खोप आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा तीन गुणा बढी हो ।

अत्यधिक आयात हुने वस्तुहरूको सूचीमा खोप ३३औं स्थानमा पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यो स्थानमा चाँदी थियो । यसपाली चाँदी यो सूचीको ३५औं स्थानमा झरेको छ । यसको मतलब चाँदीको आयातमा गिरावट आएको भने होइन । अघिल्लो आर्थिक वर्षमा ६ अर्ब १ करोड रुपैयाँ चाँदी आयात भएको थियो भने गत आर्थिक वर्षमा सात अर्ब २५ करोड रुपैयाँ बराबर चाँदी आयात भएको छ ।


कोभिड-१९ को महामारीविरुद्ध लड्न विभिन्न मुलुकहरूबाट खोप आयात भइरहेको छ । कोभिड-१९ महामारी नियन्त्रण गर्न नयाँ खोपको आविष्कार गर्ने मुलुकहरूले खोपको उत्पादन र वितरण तीव्र बनाइरहेका छन् । कोभिड-१९ विरुद्धको उपचारमा प्रभावकारी देखिएको रेम्देसिभिरलगायत विभिन्न खोपहरूको समेत प्रयोग बढ्दै गइरहेको छ । जसकारण नेपालमा खोपको आयात अत्यधिक मात्रामा बढेको हो ।

तीन वर्षयता बढ्यो खोप आयात

६ वर्षअघि खोपको वार्षिक आयात ५४ करोड रुपैयाँमा सीमित थियो । तर, आर्थिक वर्ष २०७३/७४ मा खोपको आयात दुई गुणा बढ्यो । विभागका अनुसार आव २०७३/७४ मा एक अर्ब ३८ करोड रुपैयाँ खोप आयात भएको थियो । तर, २०७४/७५ मा खोपको आयात एक अर्ब २३ करोड रुपैयाँमा खुम्चियो ।

तर, २०७६ बाट सुरु भएको कोभिड-१९ खोपको आयातमा वृद्धिको कारण बन्यो । आर्थिक वर्ष २०७५/७६ मा एक अर्ब ९५ करोड रुपैयाँ बराबर खोप आयात भयो । त्यसयता खोपको आयात बढ्दै गइरहेको छ । अघिल्लो आर्थिक वर्षमा दुई अर्ब १३ करोड रुपैयाँको खोप आयात भएको थियो ।

सबैभन्दा बढी चीनबाट खोप आयो

भन्सार विभागको तथ्यांक अनुसार सबैभन्दा बढी चीनबाट खोप आयात भएको छ । चीनबाट तीन अर्ब ३५ करोड रुपैयाँको हाराहारीमा खोप आयात भएको छ । चीनले कोभिड-१९ विरुद्धको ३४ लाख डोज खोप पठाइसकेको छ । जसमा १८ लाख अनुदानमार्फत प्राप्त भएका छन् । १६ लाख खोप खरिद मार्फत आएको हो ।

नेपाललाई बढी मात्रामा खोप पठाउनेमा बेल्जियम दोस्रो स्थानमा छ । बेल्जियमबाट दुई अर्ब ४६ करोड रुपैयाँ बराबर खोप आयात भएको तथ्यांकले देखाउँछ ।युरोपेली संघ (ईयू) को सहयोग अन्तर्गत प्राप्त खोप ईयूको मुख्यालय बेल्जियम (ब्रसेल्स) बाट प्राप्त भएको हो ।   तेस्रोमा भारत छ । भारतबाट एक अर्ब ५५ करोड रुपैयाँ बराबर खोप आयात भएको छ ।

भारतले अनुदानमा कोभिड-१९ विरुद्धको १० लाख खोप दिइसकेको छ । भारतीय सेनाबाट एक लाख खोप प्राप्त भएको छ भने खरिदबाट १० लाख डोज खोप आयात भएको छ । कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपाललाई तीन लाख ४८ हजार खोप प्राप्त भएको छ । अमेरिकाबाट जोन्सन एन्ड जोन्सनको 'जान्सिन' खोप १५ लाख ३४ हजार आठ सय ५० डोज आयात भइसकेको छ । मुलुकमा हालसम्म कुल ७३ लाख ८२ हजार आठ सय ५० खोप आयात भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।


Author

पवन तिमिल्सिना

तिमिल्सिना अर्थतन्त्रका विविध विषयमा रिपोर्टीङ गर्छन् ।


थप समाचार
x