अर्थ / बाणिज्य

नेप्से सामान्य घट्दा पनि सात कम्पनीको मूल्यमा उच्च वृद्धि

इकागज |
साउन ११, २०७८ सोमबार १५:२६ बजे

काठमाडौँ : सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । तर, सात कम्पनीको सेयर मूल्यमा भने उच्च वृद्धि भएको छ ।

नेप्से परिसूचक आठ दशमलव २४ अंकले घटेको छ । केही दिनयता लगातारको वृद्धिपछि नेप्से सामान्य अंकले खस्किएको हो । तर, सात कम्पनीको सेयर मूल्यमा १० प्रतिशतसम्म वृद्धि भएका छन् ।

बैंकिङ क्षेत्रका कम्पनीहरूको सेयर मूल्य घट्दा नेप्सेमा सामान्य गिरावट आएको छ । तर, जलविद्युत्‌ र फाइनान्स समूहका परिसूचक मजबुत छन् । जलविद्युत्‌ समूहको परिसूचक तीन दशमलव ३५ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको परिसूचक दुई दशमलव ५७ प्रतिशतले बढेको छ । सेयर मूल्य उच्च वृद्धि हुने कम्पनीहरूमा अधिकांश जलविद्युत्‌ र फाइनान्स क्षेत्रकै कम्पनी छन् ।

ग्रीनलाइफ हाइड्रोपावर, जानकी फाइनान्स, माउन्टेन हाइड्रो नेपाल, रिदी हाइड्रोपावर, ङादी ग्रुप पावर र हिमालय ऊर्जा विकास कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ ।

नेप्से सामान्य अंकले घट्दा सेयर कारोबार १४ अर्ब १३ करोड रुपैयाँ भएको छ । एक लाख ३७ हजार दुई सय ४२ पटकको कारोबारमा तीन करोड ७० लाख ६१ हजार चार सय ४७ कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । ङादीको ३९ करोड रुपैयाँभन्दा बढी सेयर किनबेच भएको छ ।



Author

थप समाचार
x